यू–१५ महिला साफ : सुजाताले पेनाल्टी बचाउँदा नेपाल च्याम्पियन
नेपाललाई च्याम्पियन बनाउने क्रममा गोलकिपर सुजाता तामाङले उत्कृष्ट प्रदर्शन गरिन् । उनले बंगललादेशविरुद्ध १–१को बराबरीमा सकिएको खेलको अन्त्यतिर पेनाल्टी बचाएकी थिइन्।
काठमाडाैं, कात्तिक २५ : यू–१५ महिला साफ च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ। शनिबार भएको लिगको अन्तिम खेलमा घरेलु टोली बंगलादेशलाई १–१को बराबरीमा रोक्दै नेपाल च्याम्पियन बनेको हो।
नेपाललाई च्याम्पियन बनाउने क्रममा गोलकिपर सुजाता तामाङले उत्कृष्ट प्रदर्शन गरिन् । उनले बंगललादेशविरुद्ध १–१को बराबरीमा सकिएको खेलको अन्त्यतिर पेनाल्टी बचाएकी थिइन्।
नेपाल, बंगलादेश र भुटान गरी तीन टिम सहभागी प्रतियोगितामा अपराजित रहेको नेपालले ४ खेलमा ३ जित र १ बराबरीसहित १० अंक जोड्यो । ७ अंक जोडेको बंगलादेश उपविजेता बन्दा पुछारमा रहेको भुटान अंकबिहीन रह्यो।
बीएसएसएसएमके रंगशालामा भएको खेलको १४औं मिनेटमा सुशीला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । दोस्रो हाफमा बंगलादेशले गोल फर्कायो । बंगलादेशकी कप्तान रुमा अख्तरले ५४औं मिनेटमा गोल गरेकी थिइन् ।
खेलको अन्तिम मिनेटमा बंगलादेशले पेनाल्टी प्राप्त गरेको थियो । तर, बंगलादेशकी जोयनोब बीबी रिताको पेनाल्टी प्रहार गोलकिपर सुजाताले बचाउ गरिन्। बचाउँदै नेपालको संकट टारिन र ऐतिहासिक उपाधि दिलाइन् ।
पहिलो पटक यू–१५ साफ च्याम्पियनसिपको उपाधि जितेको नेपाली महिला टिम शनिबार साँझ नेपाल आउने छ।











