Kathmandu Press

गुल्मी २ मा पेचिलो बन्दै पूर्वसहकर्मी विष्ट र झाँक्रीको प्रतिस्पर्धा

वडाध्यक्षले पाएको मत सुरक्षित गर्न सके कांग्रेससहितको सत्तारुढ गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई जीत निकाल्न सहज छ। विष्टलाई एमालेले वडाध्यक्षमा पाएको मत सुरक्षित राख्दै गठबन्धनका भएका दलको मत तान्न आवश्यक छ।
गुल्मी २ मा पेचिलो बन्दै पूर्वसहकर्मी विष्ट र झाँक्रीको प्रतिस्पर्धा

रेसुंगा (गुल्मी), कात्तिक २५ : गुल्मीमा दुई संघीय निर्वाचन क्षेत्र छन्। निर्वाचन क्षेत्र नं २ मा जिल्ला सदरमुकाम तम्घाससहित पश्चिम भाग पर्दछ। 

आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि दुई लाख २३ हजार छ सय १५ मतदातामध्ये यहाँ सो क्षेत्रमा एक लाख चार हजार तीन सय २७ रहेको जिल्ला निर्वाचन अधिकृत माया कुँवरले जानकारी दिए। क्षेत्र नं २ प्रदेशसभा (१) मा ५१ हजार नौ सय चार छन् र (२) मा ५२ हजार चार सय २३ छन्। 

गत स्थानीय तहको निर्वाचनबाट तीन स्थानीय तहमा नेपाली कांग्रेस र दुई स्थानीय तहमा नेकपा माओवादी केन्द्र र एक स्थानीय तहमा नेकपा एमालेले नेतृत्व गरेको छ। रेसुङ्गाको प्रमुख र उपप्रमुख, इस्माको अध्यक्ष र उपाध्यक्ष, मदानेको अध्यक्ष र मालिकाको उपाध्यक्ष कांग्रेसले जितेको छ। 

मालिका र  धुर्कोटको अध्यक्ष माओवादी जितेको छ। मुसीकोटको प्रमुख र उपप्रमुख, मदानेको उपाध्यक्ष र धुर्कोटको उपाध्यक्ष एमालेले जितेको थियो। यहाँ कूल ४३ वडा छन्। कांग्रेसले २५, एमालेले १७ र माओवादीले एक जितेको थियो। सत्तारुढ गठबन्धनका २६ र एमालेका १७ छन्। 

यहाँ गत स्थानीय तहमा वडाध्यक्षले पाएको मतका आधारमा कांग्रेससहितको गठबन्धनको ३२ हजार दुई सय २७ मत छ। एमालेसहितको गठबन्धनको ३१ हजार तीन सय ६२ छ। एमाले गठबन्धनभन्दा कांग्रेस गठबन्धन नौ सय २५ मतले अगाडि छ। यहाँ मुख्य नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्री र एमालेका गोकर्ण विष्टबीच प्रतिस्पर्धा हुँदैछ।

वडाध्यक्षले पाएको मत सुरक्षित गर्न सके कांग्रेससहितको सत्तारुढ गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई जीत निकाल्न सहज छ। उनलाई वडाध्यक्षमा सत्तारुढ गठबन्धनका दलले पाएको मत सुरक्षित राख्न निकै चुनौती छ।

एमालेसँगको असन्तुष्ट समूहलाई आफूतिर तान्न सके पनि झाँक्रीलाई अवसर छ। कांग्रेसका तल्लो तहका मतदाताले पनि आफ्नो चुनाव चिह्नलाई भुलेर गठबन्धनको भूमिका निर्वाह गरेमा झाँक्रीले यस क्षेत्रमा एमालेको विरासत तोड्न सक्नेछिन्। 

विष्टलाई एमालेले वडाध्यक्षमा पाएको मत सुरक्षित राख्दै गठबन्धनका भएका दलको मत तान्न आवश्यक छ। जुन सम्भव नहुन पनि सक्छ। अघिल्लो सङ्घीय निर्वाचनमा माओवादीको साथ पाएर निकै सहज जीत निकादेका उनलाई बलियो उम्मेदवारका रूपमा हेरिएको छ। 

एमालेबाट छुट्टिएर समाजवादीमा गई उम्मेदवार बनेकी झाँक्रीलाई एमालेको मत जाने वा नजाने भन्नेमा पनि भर पर्दछ। पहिलेका सहयात्री झाँक्री र विष्ट अहिलेका मुख्य प्रतिस्पर्धी हुँदा मतदाताले कसलाई बढी रूचाउलान् भन्ने निकै कौतुहलताका साथ हेरिएको छ। झाँक्री र विष्टको प्रतिस्पर्धा पेचिलो बन्दै गएको छ। 

यस क्षेत्रको प्रदेशसभा (१) मा कांग्रेसहितको गठबनधनको १६ हजार ६७ मत छ। एमालेसहितको गठबन्धनको १५ हजार ८ सय ८२ छ। जहाँ एमालेभन्दा कांग्रेससहितको गठबन्धन १ सय ८५ अगाडि छ। यहाँ सत्तारुढ गठबन्धनबाट कांग्रेसका भुवनप्रसाद श्रेष्ठ र एमालेका डिल्लीराज भुसालबीच प्रतिस्पर्धा हुँदैछ। यहाँ मुसीकोट, इस्मा र रेसुङ्गाका ६ वडा पर्दछन्। यहाँ २१ वडा छन्। कांग्रेसले १२ र एमालेले नौ वडा जितेको छ। 

यहाँ कांग्रेसका श्रेष्ठ उम्मेदवार रहेकाले कांग्रेसले वडाध्यक्षमा पाएको मत बचाउन सके मात्र जित सहज छ। यो सानो प्रयासले हुँदैन। एमालेका भुसाललाई आफ्नो दलले वडाध्यक्षमा पाएको मत सुरक्षित गर्दै सत्तारुढ गठबन्धनको मतसमेत तान्न आवश्यक छ। जुन त्यति सहज छैन। यहाँ श्रेष्ठ र भुसालबीचको प्रतिस्पर्धा निकै चाखलाग्दो हुनेछ। अघिल्लो पटक रेसुंगाको प्रमुखमा उनै भुसालसँग हार बेहोरेका श्रेष्ठ अहिले त्यसको बदला लिने दाउमा छन्। भुसाल अघिल्लो जितलाई आत्मबलका रूपमा लिनुभएको छ।

यस क्षेत्रको प्रदेशसभा (ख) मा कांग्रससहितको गठबन्धनको १६ हजार २ सय २० मत छ। एमालेसहितको गठबन्धनको १५ हजार आठ सय ४० छ। एमालेसहितको गठबन्धनभन्दा कांग्रेससहितको गठबन्धन ३ सय ८० ले अगाडि छ। यहाँ सत्तारुढ गठबन्धनबाट माओवादीका बुद्धि जिसी र एमाले गठबन्धनबाट दिनेश पन्थीबीच प्रतिस्पर्धा हुँदैछ। यहाँ मालिका, मदाने र धुर्कोट पर्दछन्। यहाँ २२ वडा छन्। कांग्रेसका १३, एमालेका आठ र माओवादीको एक वडा छ। कांग्रससहितको गठबन्धनका १४ र एमालेसहितको गठबन्धनका आठ वडाध्यक्ष छन्। 

गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मत कायम रहेमा जिसीलाई जित निकाल्न सहज छ। धुर्कोटमा एमालेसँगको गठबन्धनले नदेखिएको मत पनि अहिले माओवादीमै आउँछ। तसर्थ पनि सत्तारुढ गठबन्धनका जिसीलाई जीत निकाल्न निकै सहज छ। नेकपा एमालेका पन्थीलाई वडाध्यक्षमा पाएको मत सुरक्षित गरेर सत्तारुढ दलमा गएको मतसमेत तान्न आवश्यक छ। पन्थीलाई चुनौती बन्न सक्छ। 

खानेपानी माग्छन् जनता

यस क्षेत्र नागरिकले अझै पनि घरमै खानेपानीको माग गरिरहेका छन्। मदाने–६ की पवित्रा विकले आफूहरू एक घण्टा टाढाबाट पानी बोकेर खानुपर्ने अवस्था रहेको गुनासो गरेकी छन्। 'बिहानै ५ बजे उठेर एक घण्टा टाढा थाम्कामा पानी बोक्न जाने मेरो दैनिकी हो,' उनले भने। उनीसँगै थाम्काका ६ घरपरिवारमा यो समस्या छ। यस क्षेत्रमा अझै खानेपानी, सडक र स्वास्थ्यलगायतको निकै समस्या छ। 

यस क्षेत्रका नागरिकले आफूहरूलाई मत राख्न कसैले नसिकाएको गुनासो गरेका छन्। 'मलाई मत बदर हुन्छ कि भन्ने चिन्ता छ,' मदानेका दुर्गाबहादुर कुँवरले भने, 'मत कसरी राख्नेसम्बन्धी कसैले शिक्षा दिएन, सिकाए हुन्थ्यो,' उहाँ भन्नुहुन्छ। 

सोही स्थानका २० वर्षीय निरज नेपालीले पनि आफू पहिलोपटक मतदान गर्न लागेको भन्दै केही जानकारी नभएको गुनासो गरे। उनले गाउँगाउँमा मतदाता शिक्षाको अभाव भएकाले मतदाता शिक्षा आवश्यक रहेको बताए। 

निर्वाचन कार्यालयले तयारी अन्तिम चरणमा पुर्‍याएको छ। यहाँ १ लाख १५ हजार मतपत्र आइपुगेको छ। (१)  मा ५९ हजार र (२) मा ६० हजार मतपत्र आएको सूचना अधिकारी मेघलाल पाण्डेले बताए। यहाँ १ सय २८ मतदान केन्द्र र ६१ मतदानस्थल छन्। (१) मा ६२ र २९ छन्। (२) मा ६६ र ३२ छन्। 

निर्वाचन कार्यालयले वडावडामा स्वयंसेविकामार्फत मतदाता शिक्षा दिइरहेको दाबी गरेको छ। साथै निर्वाचन अनुगमन अधिकृत छविन्द्र बेल्वासेले यहाँ आचारसंहितासम्बन्धी अनुगमन भइरहेको बताएका छन्। (रासस)

प्रकाशित मिति: १६:५२ बजे, शुक्रबार, कात्तिक २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्