आसामका भूमिपुत्रको विरोध गर्ने नयाँ शैली
आसामको हिंसात्मक विरोधको केन्द्रमा एउटा रातो र सेतो कपडा भारतीय राज्यको आदिवासी भूमिपुत्रको संघर्षको संकेत बनेको छ।
नयाँ नागरिकता कानूनको विरोध गर्न उनी....
आसामको हिंसात्मक विरोधको केन्द्रमा एउटा रातो र सेतो कपडा भारतीय राज्यको आदिवासी भूमिपुत्रको संघर्षको संकेत बनेको छ।
नयाँ नागरिकता कानूनको विरोध गर्न उनीहरूले यसको प्रयोग गरेका हुन्। आसामका भूमिपुत्र सो काननूनलाई उनीहरूको विशिष्ट संस्कृतिको खतरा ठान्दछन्।
परम्परागत रूपमा माझी र किसानले त्यस्तो कपडा अर्थात गमोसा लगाउने गर्छन्। दूरदराजका क्षेत्रका अहिलेका युवाले टाउको, कम्मरमा बाँधेको गमोसामा सरकार विरोधी नाराहरू लेखिएका छन्।
“यो हाम्रो लागि झण्डा हो,” २२ वर्षीय जतिन बोराहले भने। उनी विद्यार्थी हुन्। दंगाफसाद भइरहेको बेला हजारौंको संख्यामा सडकमा ओर्लिएको भिडमा उनी पनि एक थिए। प्रहरीले गोली चलाउँदा पाँच जनाको ज्यान पनि गएको छ।
“यसले आसामको प्रतिनिधित्व गर्छ। यसको संस्कृति र यहाँका मानिसहरूको सामूहिक राजनीतिक र सामाजिक आकाङ्क्षाको प्रतिनिधित्व गर्दछ,” उनले भने,“ यो हाम्रो गौरव हो। यसले हामीलाई एकजुट गरेको छ।”
बंगलादेश, चीन र म्यान्मारबीच रहेको भारतको उत्तरपूर्वी क्षेत्र आसाममा लामो समयदेखि अन्तर जातीय तनाव चलिरहेको छ। त्यहाँका सशस्त्र आदिवासी समूहहरू भारतबाट अलग्गिन अझै पनि सङ्घर्ष गरिरहेका छन्।
विशेषगरी स्थानीय र बंगाली भाषी आप्रवासीबीच आसाममा तनाव चलिरहेको छ। ती आप्रवासीलाई बेलायतीहरूले चिया बगानमा काम गर्न ल्याएका थिए भने केही बंगलादेशमा सन् १९७१ मा भएको स्वतन्त्रताको लडाइँबाट भागेर त्यहाँ आएका हुन्।
विद्यार्थी संगठनहरूले वर्षौंसम्म चलाएको सङ्घर्ष आसाम सम्झौतासँगै सन् १९८५ मा अन्त्य भएको थियो। त्यसमा नेली हत्याकाण्ड पनि पर्दछ, जसमा पनि कम्तिमा पनि दुई हजारको मात्रै ६ घण्टामा हत्या भएको थियो।
सम्झौताको एउटा बुँदा विदेशीहरूलाई लखेट्ने थियो। यो वर्षको विवादास्पद नागरिक दर्ताले १९ लाख मानिसलाई उनीहरू वा तिनका पुर्खा सन् १९७१ अघि नै आसाममा भएको पुष्टि गर्न आसामर्थ बनाएको छ। उनीहरू राज्यविहीनता, बन्दी शिविरमा कारावासदेखि देश निकाला हुने जोखिममा छन्।
मोदीको प्रवेश
भारता बसिरहेका दुई करोड आप्रवासीलाई नागरिकता दिनसक्ने विधेयक गत साता पारित गरेर प्रधानमन्त्री नरेन्द्र मोदीले पुरानो घाउ बल्झाएका छन्। तीमध्ये करिब पाँच लाख आसाममा छन्।
आसामको मुख्य शहर गुवाहटीमा विरोधका भित्ते लेखन बग्रेल्ती देखिन्छन्। दंगाफसाद र प्रहरी झडपको केन्द्रबिन्दुमा पनि यस्तै देखिन्छ। झडपमा परेर दुई व्यक्तिको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन्। नयाँ नागरिकता विधेयकले ठूलो कठिनाइका साथ भएको सन् १९८५ सम्झौता उल्लंघन भएको प्रदर्शनकारीको दाबी छ।
“कानूनले हाम्रो संस्कृति, जीविका र मातृभूमिमा प्रत्यक्ष खतरा उत्पन्न गरेको छ,” समुज्जल भट्टाचार्यले भने। उनी अझै पनि शक्तिशाली मानिने अखिल आसाम विद्यार्थी युनियन (एएएसयु) को वरिष्ठ व्यक्तित्व हुन्। “हामी एक जना आप्रवासी पनि स्वीकार्ने छैनौं। आसामले इतिहासमा पर्याप्त आप्रवासी लिइसकेको छ,” उनले यसो भनिरहँदा “आसाम जिन्दाबाद” र “आसाम आमाको जय होस्” जस्ता नारा लागिरहेको थियो।
उनी पनि गमोसा लगाउँछन्। त्यसैगरी छेउबाट दुई महिलाले पनि लगाएका थिए। उनीहरूको गमोसामा “मोदी, आसाम तिम्रो फोहोर फ्याँक्ने ठाउँ होइन” भन्ने नारा अंग्रेजी र असमी भाषामा लेखिएको थियो। अमसी औपचारिक स्थानीय भाषा हो। यो विभिन्न आकारको हुन्छ। तर सबैको टुप्पामा राता फूलका पारी हुन्छ। यो हातले बनाइएको सुतीको कपडा हो। आसामका उपत्यका र पहाडका २० भन्दा धेरै आदिवासी समूहले गमोसा प्रयोग गर्छन्।
“गमोसा शताब्दीयौंदेखि आसामको जीवनको अंश बनेको छ,” विष्णु साइकियाले भने। उनी स्थानीय वैज्ञानिक हुन्। माझी र किसानहरू काम गर्दा पसिना पुछ्नलाई गमोसा प्रयोग गर्छन्। तर पछिल्ला वर्षहरूमा यो स्थानीय लोकसंस्कृति बन्दै गएको उनले बताए। अहिले यो आसामको पहिचान बनेको छ। आसाम आउने पाहुनालाई मायाको चिनो स्वरूप पनि गमोसा लगाइदिने चलन छ।
“आसामका पछिल्ला पुस्ताले यसलाई साँस्कृतिक सङ्केतको रूपमा अवलम्बन गरेका छन्। यसलाई उनीहरू गौरवसाथ लगाउँछन्,” उनले भने,“यसले उनीहरूलाई आफ्नो जरासँग जोडेको अनुभव गराएको छ।”
“हाम्रो पुर्खाले यसलाई शताब्दीयौंदेखि संरक्षण गर्दै आए। बाहिरियाहरूलाई यहाँ बस्न दिए, यो पनि मर्नेछ,” उत्पल बोराहले भने। उनी पनि विरोध प्रदर्शनमा सहभागी भएका छन्। “हाम्रो अस्तित्व संकटमा छ,” उनले भने।