गायक कुवेर राई अस्पताल भर्ना
श्रोतामाझ ‘अन्तराल’, ‘निरन्तर’, ‘अविरल’, ‘आवृत्ति’ जस्ता गीति एल्बम ल्याएका उनका ‘मायाले मूलबाटो भुलेछ’, ‘टाढा भए के भो मायालु’ लगायत गीत निकै लोकप्रिय छन्।
काठमाडौं, कात्तिक २२ : कुवेर राई अस्पताल भर्ना भएका छन्। अचेत हुने समस्या देखिएपछि सोमबार साँझ उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ।
सुरूमा उनलाई हातखुट्टा चलाउन असहज हुने समस्या देखिएको थियो। उनलाई उनको बायाँ हात र खुट्टामा पक्षाघातको संकेत देखिएको जनाइएको छ। तर आत्तिनुपर्ने अवस्था नरहेको बताइएको छ।
इलामको एउटा गाउँमा कृषिकर्म गर्दै आएका गायक राई संगीत साधनामा पनि सक्रिय रहँदै आएका छन्। गायन क्षेत्रमा केही गर्ने लक्ष्यका साथ काठमाडौं आएका उनले १६ वर्षको हुँदा रेडियो नेपालमा स्वर परीक्षा पास गरेर औपचारिक संगीत यात्रा सुरु गरेका थिए।
उनले २०३९ सालमा ‘प्रतिभाको खोजी’ नामक देशव्यापी आधुनिक गायक प्रतियोगितामा भाग लिएर सानै उमेरमा चर्चित भएका थिए। २०४० सालमा रत्न रेकर्डिङको आयोजनामा भएको ‘अधिराज्यव्यापी युवा गायन प्रतियोगिता’मा उनी प्रथम भए। २०५१ सालमा रेडियो नेपालले गरेको आधुनिक गीत प्रतियोगितामा उनी विजेता बने।
श्रोतामाझ ‘अन्तराल’, ‘निरन्तर’, ‘अविरल’, ‘आवृत्ति’ जस्ता गीति एल्बम ल्याएका उनका ‘मायाले मूलबाटो भुलेछ’, ‘टाढा भए के भो मायालु’ लगायत गीत निकै लोकप्रिय छन्। उनी नेपाली पार्श्व गायन क्षेत्रका स्थापित गायक हुन्।












