स्वतन्त्र उम्मेदवार स्वागत नेपालमाथि हातपात
बिर्तामोड महानन्द चोकस्थित सिके चिन्तन अध्ययन प्रतिष्ठानले सोमबार साँझ आयोजना गरेको उम्मेदवार-मतदाताअन्तर्क्रियामा नेपालले बोल्ने क्रममा हरिकुमारका कार्यकर्ताहरुले माइक तानेपछि तनाव उत्पन्न भएको थियो।
झापा, कात्तिक २२ : झापा निर्वाचन क्षेत्र नं. २ का स्वतन्त्र उम्मेदवार स्वागत नेपालमाथि हातपात भएको छ।
सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका हरिकुमार राना मगरका कार्यकर्ताले उनीमाथि हातपात गरेको जनाइएको छ।
हातपातपछि उत्पन्न तनावलाई प्रहरीले साम्य पारेको बताइएको छ। बिर्तामोड महानन्द चोकस्थित सिके चिन्तन अध्ययन प्रतिष्ठानले सोमबार साँझ आयोजना गरेको उम्मेदवार-मतदाताअन्तर्क्रियामा नेपालले बोल्ने क्रममा हरिकुमारका कार्यकर्ताहरुले माइक तानेपछि तनाव उत्पन्न भएको थियो।
उनीहरूले कार्यक्रम हलमा रहेको ढोकामा चुक्कुल लगाएर नेपाललाई बाहिर निस्कन नदिई नियन्त्रणमा लिएको आरोप पनि लगाइएको छ। नेपालको प्रचार समितिले दुव्र्यवहारको सबै भिडियो सुरक्षित राखिएको बताएको छ।
हरिकुमारका कार्यकर्ताले भद्रप्रसाद नेपाल हुँदाहुँदै किन स्वागत नेपाल राखेर झुक्याएको भनी प्रश्न गर्दा उनले प्रचण्ड, केपी, बिपीको उदाहरण दिँदै आफ्ना सबै पुस्तक उपनामबाटै छापिएको जवाफ दिएका थिए।
त्यसपछि हरिकुमार स्वयंले ‘जवाफ दिन आवश्यक नभएको’ भन्दै नेपालको हातबाट माइक खोसेको बताइएको छ।












