शोभाको चुनावी प्रतिबद्धता– बहुप्राविधिक शिक्षालयदेखि सुत्केरीकाे निःशुल्क उपचारसम्म
आधुनिक र व्यावहारिक शिक्षा प्रणाली लागु गर्न पहल गर्ने, उपयोगी स्थानीय सीप प्रवद्र्धन गर्ने शिक्षामा जोड दिने, व्यावसायिक शिक्षा र नैतिक शिक्षालाई प्रवद्धन गर्ने प्रतिबद्धता पनि उनको छ।
ओखलढुंगा, कात्तिक २१ : आसन्न प्रतिनिधिभास र प्रदेशसभा निर्वाचनमा ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी शोभा कार्कीले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेकी छन्।
कार्कीले ओखलढुंगाका प्रत्येक पालिकामा बहुप्राविधिक शिक्षालय खोल्नेदेखि, सुत्केरीको उपचार पूर्ण निःशुल्क गर्नेसम्मका प्रतिबद्धता व्यक्त गरेकी छन्।
आधुनिक कृषि प्रणालीको अभ्यास गर्न मद्दत गर्ने प्रतिबद्धता पनि उनले गरेकी छन्। ‘श्रम सेना (श्रमिक) परिचालन गरी सामूहिक खेतीको परम्परा भिœयाएर कृषि उत्पादन बढाउने तथा पुराना बालीहरु यथावत् राख्दै माटो परीक्षण गरेर माटो अनुरूप बाली लगाउन प्रोत्साहन गर्नेछु,’ कार्कीले भनेकी छन्।
यस्तै, उनले कृषकले उब्जाएको उत्पादनलाई उचित बजार व्यवस्थापनमा ध्यान दिने, प्रत्येक पालिकामा पायक पर्ने स्थानमा साझा कोल्ड स्टोरको निर्माण गर्नेलगायत प्रतिबद्धता पनि व्यक्त गरेकी छन्।
आधुनिक र व्यावहारिक शिक्षा प्रणाली लागु गर्न पहल गर्ने, उपयोगी स्थानीय सीप प्रवर्धन गर्ने शिक्षामा जोड दिने, व्यावसायिक शिक्षा र नैतिक शिक्षालाई प्रवद्धन गर्ने प्रतिबद्धता पनि उनको छ।
यस्तै, कार्कीले गाउँ–गाउँमा बिरामी पहिचान गरी समयमै उपचार प्रदान गर्न इलेक्ट्रिक मेडिकल रेकर्ड (इएमआर) एप्सको व्यवस्था गर्ने तथा ओखलढुंगाका स्वास्थ्य केन्द्रहरूलाई प्रभावकारी बनाउन मेडिकल सामग्री र जनशक्ति व्यवस्था गर्ने प्रतिबद्धता गरेकी छन्।
प्रत्येक पालिकामा २४ घन्टा निःशुल्का सार्वजनिक एम्बुलेन्सको व्यवस्था गर्ने, जिल्लासँग जोडिएका राजमार्ग तथा कृषि सडकलाई सुन्दर र व्यवस्थित बनाउने, लिखु, मोलुङ र दुधकोसीमा सम्भाव्यता अध्ययन भएका जलविद्युत् आयोजनाहरूको डिपिआर तयार गरी आयोजनाहरू अगाडि बढाउने प्रतिबद्धता पनि उनले व्यक्त गरेकी छन्।
‘कृषि उद्योगबाट ओखलढुंगामा रोजगारीको सिर्जना गर्ने र पर्यटन व्यवसायलाई पनि आकार्षित र प्रोत्साहन गर्ने, स्थानीय ज्ञान सीपहरुलाई पनि प्रवर्धन गर्दै स्वरोजगारमा आवश्यक सहयोग गर्ने, गाउँमै उत्पादन र रोजगारी सिर्जनाका लागि संसद कोष तथा मन्त्रालयबाट बजेट व्यवस्था गरि प्रत्येक गाउँ पालिकामा एउटा औद्योगिक क्षेत्र स्थापना गरिनेछ,’ कार्कीले सर्वाजनिक गरेको प्रतिबद्धता पत्रमा उल्लेख छ।
यस्तै, कार्कीले ओखलढुंगाको वातावरणलाई स्वस्थ, हराभरा र पर्यटनमैत्री बनाउन पहल गर्ने, ओखलढुंगाको भएर बग्ने नदीहरुमा राफ्टिङको सम्भाव्यता अध्ययन र अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन पहल गर्ने स्थानीय खेलकुदलाई व्यवस्थित बनाउन आवश्यक ठाउँमा खेल मैदानको निर्माण तथा खेलाडीहरूलाई सम्मान, पुरस्कार र प्रोत्साहन गर्ने प्रतिबद्धता पनि मतदातासमक्ष गरेकी छन्।












