Kathmandu Press

कलाकारको पेशागत सुरक्षाको माग

कलाकारको पेशागत सुरक्षाको माग

काठमाडौं, कात्तिक १९ : कला क्षेत्रमा कार्यरत पेशाकर्मी कलाकारको हक, हित र पेशा सुरक्षित गर्न नीति तर्जुमा गर्नुपर्ने माग गर्दै काठमाडौंस्थित स्वयम्भू क्षेत्रका कलाकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई ‘राष्ट्रिय कला संरक्षण तथा प्रवद्र्धन नीति २०७९’ को मस्यौदा पेस गरेका छन्।

आर्टिष्ट एट स्वयम्भूले शनिबार आयोजना गरेको कार्यक्रममा संयोजक दिपेश प्रधानले सरकारी वा निजी क्षेत्रका केन्द्रीय कार्यालयमा नेपाली कलाकारले आफ्ना कलाकृति राख्नका लागि कानुनी व्यवस्था मिलाउनुपर्ने माग गर्दै मन्त्रीसमक्ष मस्यौदा प्रस्तुत गरे।

मस्यौदामा कलासम्बन्धी कानुनी व्यवस्था बनाई समय–समयमा सुधार तथा परिमार्जन गरी आवश्यकतानुसार नयाँ नीति निर्माण गर्न र कलाकृति खरिद–बिक्रीसम्बन्धी कानुन एवं प्रतिलिपि अधिकारसम्बन्धी नियम, कानुन निर्माण गर्नसमेत सुझाव दिएको छ।

देशभित्र रहेका सम्पूर्ण समकालीन कालकारको कलाकृतिलाई उचित मूल्याङ्कन गर्नुका साथै कालकृतिको वर्गीकरण गरी संरक्षणको व्यवस्था मिलाउनुपर्नेमा समेत मस्यौदामा जोड दिइएको छ।

कार्यक्रममा मन्त्री श्रेष्ठले नेपाली कला क्षेत्रले देशको विकासमा पुर्‍याएको योगदानको चर्चा गर्दै कला संस्कृतिको विकास र प्रवर्द्धनको निम्ति सरकार प्रतिबद्ध रहेको बताए। उनले राजनीतिक स्थिरताको निम्ति सत्तारुढ दलबीच चुनावी गठबन्धन गरिएको प्रष्ट पार्दै सुशासन कायम गर्नुका साथै देशको आर्थिक विकासका निम्ति गठबन्धनलाई मतदान गर्न अपिल गरे।

प्रकाशित मिति: २०:१५ बजे, शनिबार, कात्तिक १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्