Kathmandu Press

पाँचखालमा मदन भण्डारी विश्वविद्यालयः काम शुन्य, हल्ला बढी

सरकारले दिएको ११ हजार रोपनी जग्गाको पूर्जा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार विकास समितिको नाममा बनिसकेको छ । तर चीनले रकम उपलब्ध नगराउँदा काम भने अघि बढ्न सकेको छैन्।
पाँचखालमा मदन भण्डारी विश्वविद्यालयः काम शुन्य, हल्ला बढी

काभ्रे, कात्तिक १९ : काभ्रेको पाँचखाल नगरपालिकामा निर्माण हुने भनिएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका बारे एमालेले भएको भन्दा बढी भ्रम सिर्जना गरेको पाइएको छ।  

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार विकास समितिले निर्माणको जिम्मा लिएको छ। यसको अफिस ललितपुरस्थित भैसेपाटीमा छ।

केही दिनअघि एमालेका तर्फबाट काभ्रे क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार बनेका गोकुल बास्कोटाले लालपुर्जा देखाउँदै पाँचखालमा विश्वविद्यालय निर्माणको काम अघि बढेको अभिव्यक्ति दिएका थिए।

Hardik ivf

तर, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणको कार्य कत्ति पनि अघि नबढेको विकास समितिका अध्यक्ष राजेन्द्रध्वज जोशी बताएका छन्। उनले चीनले सहयोग गर्छु भनेर विश्वविद्यालय निर्माण कार्य अघि बढाएपनि रकम नआउँदा पूर्वाधार निर्माणको कार्य अघि बढाउन नसकिएको बताए।

पाँचखालमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको अहिलेसम्म सकिएको काम भनेको मास्टर प्लान र जग्गा पूर्वाधार विकास समितिको नाममा ल्याउने मात्रै हो । मास्टर प्लान अनुसार सुरुमा ३ हजार विद्यार्थी र पछि १० हजार विद्यार्थी पढाउने गरी विश्वविद्यालयको संरचना बन्नेछ ।

सरकारले विश्वविद्यालय स्थापनाका लागि आवश्यक सरकारी जग्गाको प्रबन्ध गरेको छ । २०७६ मंसिर २३ गते विकास समितिका नाममा जग्गा पास गरिदिने निर्णय सरकारले गरेको थियो।

सरकारले दिएको ११ हजार रोपनी जग्गाको पूर्जा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार विकास समितिको नाममा बनिसकेको छ ।  तर चीनले रकम उपलब्ध नगराउँदा काम भने अघि बढ्न सकेको छैन्।

अध्यक्ष जोशीले मकवानपुर जिल्लाको थाहा नगरपालिकाको चित्लाङमा भने विश्वविद्यालयको भौतिक संरचना निर्माणको काम धमाधम भइरहेको बताए। उनले भने, ‘चित्लाङमा अहिले भौतिक संरचना निर्माणको काम निकै अघि बढिसकेको छ। अर्को वर्षदेखि विद्यार्थी भर्ना लिएर अध्ययनको काम पनि अघि बढाउछौँ । तर पाँचखालमा बन्ने संरचनाका लागि आर्थिक स्रोत जुटेको छैन।’

जोशीका अनुसार पाँचखालमा ११ हजार रोपनी जग्गामा विश्वविद्यालय फैलने छ । समितिका अध्यक्ष जोशीको भनाईलाई जिल्ला मालपोत कार्यालय काभ्रेको रेकर्डले पनि पुष्टि गर्छ।

तर, बास्कोटाले पाँचखाल नगरपालिका–१२ को चुनावी कार्यक्रममा १३ हजार रोपनी जग्गा विश्वविद्यालयको नाम आइसकेको भन्दै लालपुर्जा देखाएका थिए । बास्कोटाको यो दाबीलाई भने जिल्ला मालपोत कार्यालय काभ्रेको तथ्याङ्कले पुष्टि गर्दैन ।

यसअघि एमाले काभ्रेका नेता–कार्यकर्ताले पाँचखालमा निर्माण हुने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका लागि ७ अर्ब रुपैयाँ आइसकेको र काम भइरहेको भ्रमपूर्ण दाबी सामाजिक सञ्जाल मार्फत गरेका थिए । विश्व विद्यालयको नाममा आएको ७ अर्ब रुपैयाँ कहाँ र कसरी खर्च भयो भन्ने विषयमा एमालेले केही भन्न सकेको छैन ।  

विभिन्न चरणमा गरेर विश्वविद्यालयका लागि ४३ अर्ब लाग्ने विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) मा उल्लेख छ ।

प्रकाशित मिति: १९:३८ बजे, शनिबार, कात्तिक १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्