Kathmandu Press

निर्वाचन आयोगले बालेनलाई साेध्याे स्पष्टीकरण

आयोगले पठाएको ध्यानाकर्षणसहितको पत्रमा स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित भई कार्यभार सम्हालेको अवस्थामा उक्त दलसँग कुनै आबद्धता नै रहेभएको जस्तो गरी साहको तस्बिर र नाम निरन्तर प्रयोग हुनुको कारण सोधिएको छ।
निर्वाचन आयोगले बालेनलाई साेध्याे स्पष्टीकरण

काठमाडौं, कात्तिक १९ : निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहलाई स्पष्टीकरण सोधेको छ।

हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले  ‘जय लौरो’ नामक फेसबुक पेजसमेतबाट प्रमुख साहको समर्थन रहेको भनी गरेको प्रचारप्रसारबारे आयोगले बालेनलाई स्पष्टीकरण सोधेको हो।

आयोगले पठाएको ध्यानाकर्षणसहितको पत्रमा स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित भई कार्यभार सम्हालेको अवस्थामा उक्त दलसँग कुनै आबद्धता नै रहेभएको जस्तो गरी साहको तस्बिर र नाम निरन्तर प्रयोग हुनुको कारण सोधिएको छ।

‘निर्वाचन आयोग नेपालले कुनै पनि तवरबाट निर्वाचनको स्वच्छता र निष्पक्षता कायम रहोस् भनी सदैव चासो राख्दछ । संविधान र प्रचलित निर्वाचनसँग सम्बन्धित कानुनको आधारमा निर्वाचन सम्पन्न गर्ने क्रममा ऐन कानुनको परिकल्पनाभन्दा बाहिरका उपायहरू प्रविधिमार्फत अवलम्बन गरी निर्वाचन कानुनबाहेकका कानुनको उल्लङ्घन हुनसक्ने विषयमा समेत आयोग सचेत छ,’ स्पष्टीकरणमा भनिएको छ, ‘उल्लेखित सन्दर्भमा हाम्रो नेपाली पार्टीसँग यहाँको कुनै कानुनी सम्बन्ध रहेको भन्ने आयोगमा रहेको उक्त दलको अभिलेखबाट नदेखिएको अवस्थामा सोही तथ्यमा विश्वस्त हुँदै पत्र प्राप्त भएको दुई दिनभित्र जवाफ उपलब्ध गराइदिन अनुरोध छ ।’

आयोगले बालेनलाई इन्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीसँग तपाईंको कुनै आबद्धता छ, छैन?, हाम्रो नेपाली पार्टीसँग कुनै दलगत आबद्धता छैन भने उक्त दलले तस्बिर र नाम प्रयोग गरी आफ्नो दल र उम्मेदवारहरूको मत निरन्तर मागिरहेको देखिएकाले सो कार्य गर्न कुनै व्यक्त वा अव्यक्त सहमति छ, छैन? भन्ने प्श्न पनि सोधिएको छ।

प्रकाशित मिति: १७:५५ बजे, शनिबार, कात्तिक १९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्