Kathmandu Press

झापामा क्यान्सर विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन सुरु

बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पताल र नेपाल क्यान्सर फाउन्डेसनले संयुक्तरुपमा आयोजना गरेको सो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल, भारत र बङ्गलादेशका दुई सय विशेषज्ञ चिकित्सकको सहभागिता छ।
झापामा क्यान्सर विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन सुरु

झापा, कात्तिक १९ : झापाको मेचीनगरमा क्यान्सर रोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन ‘पूर्वाञ्चल क्यान्सर कंग्रेस २०२२’ आज सुरु भएको छ।

बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पताल र नेपाल क्यान्सर फाउन्डेसनले संयुक्त रुपमा आयोजना गरेको सो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल, भारत र बंगलादेशका दुई सय विशेषज्ञ चिकित्सकको सहभागिता छ।

Hardik ivf

सो सम्मेलन कात्तिक २० गतेसम्म सञ्चालन हुने पूर्वाञ्चल क्यान्सर अस्पतालका ‘मेडिकल डाइरेक्टर’ एवं सम्मेलनका कार्यक्रम निर्देशक डा वीरेन्द्र यादवले जानकारी दिए। विश्वभरि फैलिइरहेको क्यान्सर रोगको अवस्था, यसको निदानका लागि भइरहेका वैज्ञानिक खोज अनुसन्धान र उपचार प्रविधिका बारेमा चिकित्सकीय अनुभव सम्मेलनका सहभागीबीच आदानप्रदान हुने उनले बताए।

सम्मेलनमा विज्ञका २० वटा वैज्ञानिक कार्यपत्र र १० वटा पोस्टर कार्यपत्र प्रस्तुत हुने भएको छ । यस्ता सम्मेलन ठूला देश र सहरमा मात्र आयोजना हुने गरेकामा झापामा आयोजना हुनु गौरवको विषय भएको आयोजक पूर्वाञ्चल क्यान्सर अस्पतालका निर्देशक डा निराजन प्रसाईंले बताए।

सम्मेलनमा भएका छलफल र अनुभवको विनिमयले क्यान्सरको उपचारमा नयाँ प्रविधिको प्रयोग बढ्ने र यसबाट पूर्वाञ्चल क्यान्सर अस्पतालको सेवाको गुणस्तर विश्वस्तरीय बन्ने भारतको दिल्लीस्थित सर्वोदय क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. दिनेश पेन्दावरले सम्बोधनका क्रममा बताए।

प्रकाशित मिति: १४:१२ बजे, शनिबार, कात्तिक १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्