Kathmandu Press

तनहुँमा डेङ्गु सङ्क्रमित बढ्दै

कात्तिकमा मात्रै ८८ जनामा सङ्क्रमण देखिएको दमौली अस्पतालका प्रमुख डा दिवस ढकालले जानकारी दिए। उनका अनुसार २१५ जनाको नमूना परीक्षणमा सबैमा डेङ्गु सङ्क्रमण देखिएको हो।
तनहुँमा डेङ्गु सङ्क्रमित बढ्दै

तनहुँ, कात्तिक १९ : चिसो मौसम सुरु हुँदा पनि तनहुँमा डेङ्गुको सङ्क्रमण बढ्दो क्रममा छ । डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेपछि सदरमुकामस्थित अस्पतालहरुमा  सङ्क्रमितको भिड लागेको छ।

कात्तिकमा मात्रै ८८ जनामा सङ्क्रमण देखिएको दमौली अस्पतालका प्रमुख डा दिवस ढकालले जानकारी दिए। उनका अनुसार २१५ जनाको नमूना परीक्षणमा सबैमा डेङ्गु सङ्क्रमण देखिएको हो।

जिल्लामा भदौको अन्तिम सातादेखि डेङ्गुको सङ्क्रमण फैलिएको थियो भने असोजमा मात्रै एक सय एक जनामा सङ्क्रमण पुष्टि भएको डा ढकालले बताए । डेगुको सङ्क्रमण हुँदा उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी दुख्ने, आँखाको गेडी र टाउको दुख्ने जस्ता लक्षण देखिने उनको भनाइ छ।

डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि नियन्त्रणको प्रयास भइरहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जनाए। डेङ्गुबाट बच्न जिल्लाका १० वटै स्थानीय तहले लामखुट्टेको बासस्थान मास्ने, सरसफाई लगायतको सचेतनात्मक कार्यक्रम समेत सञ्चालन भइरहेको छ।

डेङ्गु लामखुट्टेको टोकाइबाट सर्ने भएकाले आफ्नो घर वरिपरी पानी जम्न नदिने, सफा राख्न स्वास्थ्य कार्यालयले सबैसँग आग्रह गरेको छ । साथै डेङ्गुसँग मिल्दाजुल्दा लक्षण देखिने बित्तिकै चेक जाँच गराउन कार्यालयले अनुरोध गरेको छ।

एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा डेङ्गु सङ्क्रमण हुन्छ। एडिस लामखुट्टेले मानिसलाई दिउँसो मात्र टोक्छ।

 

प्रकाशित मिति: १२:१२ बजे, शनिबार, कात्तिक १९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्