दिमाग खराब नगरी इन्टरनेटमा कसरी बहस गर्ने?
मेरो एक जना साथी छन् जो गाडी चलाउँदा भिन्दै व्यक्ति बन्छन्। मुख छाड्छिन्। कसैलाई त औंला नै ठड्याउँछिन्। तर मान्छे भने त्यस्तो हुँदै होइनन्।
अपरिचितसँग ठोक्कि....
मेरो एक जना साथी छन् जो गाडी चलाउँदा भिन्दै व्यक्ति बन्छन्। मुख छाड्छिन्। कसैलाई त औंला नै ठड्याउँछिन्। तर मान्छे भने त्यस्तो हुँदै होइनन्।
अपरिचितसँग ठोक्किँदा माफी माग्छिन्। साह्रै दु:खी भएको बेला पनि त्यस्तो मुख छाड्ने उनको बानी नै छैन। कहिलेकाहिँ दुवै व्यवहार भएको उनी नै हुन् भनेर छक्क पनि पर्छु। तर उनी एक प्रतिनिधि पात्र मात्र हुन्। सडकमा अनुशासित व्यवहार नदेख्दा रिसाउनु सामान्य हो। कारभित्र भएको मानिस चिनिँदैन। अनि हामी मनपरी गर्न थाल्छौं।
अनलाइन बहसमा पनि यो लागू हुन्छ। अनुसन्धाता यसलाई “अनलाइन डिस्इन्हिबिसन इफेक्ट” भन्छन्। “हामी सामाजिक प्राणी हौं। तर अनलाइनमा अन्यलाई चिन्ने र उनीहरूप्रति समभाव राख्ने कुनै सङ्केत पाउँदैनौं। उनीहरू कस्तो अनुभव गर्छन् वा कसरी प्रतिक्रिया दिन्छन्, हामीलाई थाहा हुँदैन,” माइक रिब्बल भन्छन्।
उनी “दि डिजिटल सिटिजन्सिप ह्यान्डबुक अफ स्कूल लिडर्स” नामक पुस्तकका सह लेखक हुन्। इन्टरनेट ट्रोललाई हामी अनलाइनमा भड्किला पोस्ट र विरोध मात्रै गर्ने दैत्य कल्पना गर्छौं जो अनलाइन जगतको सुरक्षित कवचभित्र लुकेको छ। तर यथार्थमा साथीभाइ, छिमेकी, आमाबाबु हामी आफैं पनि ट्रोल हुनसक्छौं। जानीबुझी कलह फैलाउने कार्यसँग सम्बन्धित ट्रोलको परिभाषाभित्र नपर्ने भए पनि “ट्रोल” जगतको धमिलो पानीमा भासिँदै गएको आफूलाई पाउनुहुनेछ।
अर्को तरिकाले भन्दा, अनलाइनमा अनुत्पादक र नीच तर्क गर्ने क्षमता हामी सबैमा छ तर त्यो हाम्रो चरित्र नहुन सक्छ।
“अनलाइन बहसमा हामी दैनिक सहभागी हुन्छौं र विषाक्त व्यवहार पनि देख्छौं,” युरी लेस्कोभिकले भने। उनी स्ट्यान्फोर्ड विश्वविद्यालयमा कम्प्युटर विज्ञानका सहायक प्राध्यापक हुन्। लेस्कोभिक अनलाइन “ट्रलिङ” अध्ययन गर्दछन्। “हामी यसलाई अझ बुझ्न चाहन्थ्यौं। अनलाइन बहसलाई कम विषाक्त र बढी स्वागतयोग्य बनाउने रणनीति विकास गर्न चाहन्थ्यौं।”
डा. लेस्कोभिक र उनका सहकर्मीले अनलाइन छलफल “सिमुलेट” गरेर “ट्रलिङ” सम्बन्धी व्यवहारको अध्ययन गरे। अनलाइनमा खराब व्यवहार सिर्जना गर्ने दुई मुख्य कारण भएको उनीहरूले पत्ता लगाए। तीन हुन् खराब “मुड” र छलफलको सन्दर्भ।
अनुसन्धाताले साधारण व्यक्तिहरूको मनोदशा “म्यानिपुलेट” गरे। उनीहरूलाई सजिलो हुन्छ भनेर कठिन परीक्षा लिन लगाए। नतिजा पक्कै राम्रो आएन। “त्यसपछि हामीले उनीहरूको मनोदशा मुल्याङ्कन गर्यौंम। हामीले उनीहरूको मनोदशा बिगारेको बतायौं र उनीहरूको प्रतिक्रिया लियौं,” डा. लेस्कोभिकले भने।
उनी भन्छन्,“मनोदशा खराब भएका मानिसहरूले ट्रलिङ कमेन्ट लेख्ने सम्भावना धेरै हुने हाम्रो परीक्षणले देखाएको छ।” सन्दर्भ पनि महत्वपूर्ण थियो। अन्यले विषाक्त प्रतिक्रिया दिएको बेला आउने प्रतिक्रियाहरू अझ विषाक्त देखिन्थे।
“असल व्यवहारका कारण अरूले पनि असल व्यवहार गरेको हामीले पाएनौं। तर खराब व्यवहारले खराब व्यवहार नै निम्त्यायो,” डा. लेस्कोभिकले बताए। नकारात्मक व्यवहार एकदमै छिटो फैलिन्छ र अझ खराब व्यवहारको ओरालो चक्रतर्फ लैजान्छ। सहि परिस्थिती भए साधारण व्यक्ति पनि ट्रलजस्तो व्यवहार गर्न सक्छन् भन्ने नतिजा अनुसन्धाताले निकाले। “ट्रल जन्मिदैंनन्,” डा. लेस्कोभिकले भने,“वातावरणले उनीहरूलाई विषाक्त बनाउँछ।”
अनलाइनमा खराब व्यवहार गर्ने जेसुकै कारण भए पनि विधायक र अभियन्ताहरू अनलाइन मञ्चहरूलाई सभ्य बनाउन “डिजिटल सिटिजन्सिप” का लागि अझ धेरै दबाव दिइरहेका छन्। “यसको परिभाषा विविध रूपमा देखापरेको छ,” रिब्बलले भने।
इन्टरनेश्नल सोसाइटी फर टेक्नोलोजी इन एजुकेसनको डिजिटल सिटिजन्सिप नेटवर्क नेतृत्वमध्ये उनी पनि एक हुन्। “तर म यसलाई डिजिटल स्पेसमा हामी कस्तो व्यवहार गर्छौं र एकअर्कासँग कसरी व्यवहार गर्छौं, त्यसलाई बुझ्छु। प्रविधिको उपयुक्त र जिम्मेवार प्रयोगसम्बन्धी मुल्यमान्यता हामी निरन्तर विकास गरिरहेका छौं।
डिजिटल सिटिजन्सिप समभाव भएको अनलाइन विश्वा सिर्जना गर्नलाई मात्रै नभएर हाम्रो मानसिक स्वास्थ्यका लागि पनि महत्वपूर्ण छ। यसैलाई ध्यानमा राखेर यहाँ केही असल अभ्यासहरू प्रस्तुत गरिएका छन्। यसले तपाईंको अनलाइन छलफललाई उपयुक्त डिजिटल सिटिजन्सिप दिन सहयोग गर्नेछ।
सहानुभूतिको अभ्यास
कोर्नेलका अनुसन्धाताले रेड्डिट कम्युनिटी चेञ्जमाइभ्युको विश्लेषण गरेर मानिसहरू कसरी अनलाइन बहस जित्न खोज्छन् भनेर अध्ययन गरेका छन्।
“धेरैजसो परिस्थितिमा व्यक्तिको राय परिवर्तन गर्नु नै सामान्य उद्देश्य हुन्छ तर यो निकै चुनौतीपूर्ण पनि हुन्छ,” अध्ययन प्रतिवेदनका एक सह लेखक चेनहाओ तानले बताए। “त्यसको अन्तर्निहित संयन्त्र र तर्कले कसरी मनाउने प्रक्रियालाई आकार दिन्छ त्यो बुझ्नु एकदमै उपयोगी हुनेछ।”
चेञ्जमाइभ्यु विशिष्ट छ। बहसका लागि यहाँ नियमहरू छन्। यहाँ आफ्नो दृष्टिकोण पछाडीको कारण खुलाउनुपर्छ र अन्य टिप्पणीकर्ताप्रति मित्रवत व्यवहार गर्नुपर्छ। तर यी नियमलाई आफ्नै अन्तर्क्रियाहरूमा पनि लागु गर्न सकिन्छ। अर्को व्यक्तिको राय कहाँबाट आइरहेको छ भनेर बुझ्ने र समभाव राख्नु नै प्रभावशाली अनलाइन बहसको एउटा महत्वपूर्ण टिप्स भएको डा. तानले बताए।
“धेरै स्थानमा नजङ्गिकन यसरी व्यवहार गर्ने सजिलो तरिका दिइदैन,” उनले भने,“अर्को पक्षले कुनै राय विशेष किन राख्छन् भनेर बुझाउनसके, संवादका लागि साझा धरातल स्थापना हुन्छ।” अभ्यासमा यसको अर्थ आफ्नो दृष्टिकोण पछाडीको कारण बुझाउने वा अरूले किन कुनै विशेष दृष्टिकोण राख्छन् भनेर सोध्नु भन्ने लाग्दछ।
मुड खराब भए प्रतिक्रिया नदिनुहोस्
त्यो “सेन्ड” थिच्नु अघि, आफ्नो भावनात्मक अवस्था नियाल्नुहोस्। “मुड खराब भएको बेला पोस्ट नगर्नुहोस्,” डा. लेस्कोभिक सुझाव दिन्छन्। “सास लिनुहोस्। सास छोड्नुहोस्।” कुनै तर्क विषाक्त भएको देखेपछि रोकिनु अत्यन्तै महत्वपूर्ण छ किनभने त्यहाँबाट अवस्था अझै खराब हुन्छ। “ओरालो लाग्ने चक्र रोकथाम गर्नुहोस्। विषाक्त छलफलमा सहभागी नहुनुहोस्। त्यसबाट केहि लाभ हुनेछैन,” उनले भने।
समय लिनुहोस्
“हामी यस्तो समाजमा बस्छौं जहाँ हामीसँग अर्को व्यक्तिलाई हेर्ने समय छैन,” रिब्बलले भने,“अनि धेरैजसो समय कुनै प्रतिक्रिया कति छिटो पोस्ट गरिन्छ त्यसमा मात्रै केन्द्रित हुन्छ। अर्को व्यक्ति को हो त्यसबारे विचार गरिँदैन।”
आफ्नो पुस्तकमा रिब्बलले चार भागको प्रक्रिया सुझाव दिएका छन्: केही पोस्ट गर्नुअघि रोकिनुहोस् र सास लिनुहोस्, आफूले भन्न खोजेको सत्य र सहयोगी छ कि छैन विचार गर्नुहोस्, अर्कोपट्टि भएका व्यक्तिसँग समभाव राख्नुहोस् र अन्तिममा, यो प्रक्रिया पूरा गरेपछि र आफ्नो प्रतिक्रिया उपयुक्त लागे मात्रै पोस्ट गर्नुहोस्।
भाषामा ध्यान दिनुहोस्
डा. तानको अध्ययनमा भाषाको सूक्ष्म प्रयोगले तर्कमा ठूलो प्रभाव पार्ने अनुसन्धाताहरूले पत्ता लगाएका छन्।
“उदाहरणका लागि, धेरैजसो परिस्थितीमा कसैको राय परिवर्तन गर्न उसलाई उद्धृत गर्नु सर्वोत्तम नहुनसक्छ,” डा. तानले भने,“यसो गर्दा सम्बन्धित व्यक्तिको पूर्ण दृष्टिकोणमा समभाव राख्नेभन्दा पनि उनले प्रयोग गरेका शब्दलाई लिएर निहुँ खोजेजस्तो हुने भएकाले यस्तो हुनसक्छ।”
तपाईंसँग बहस गर्ने व्यक्तिले राय प्रस्तुत गर्दा “म” को साटो “हामी” प्रयोग गरेमा उनी कम खुला मानसिकताको भएको सङ्केत हुनसक्छ। “प्रथम पुरूषको सर्वनाम प्रयोग गरेर कुनै विश्वाससँग व्यक्तिको सम्बन्ध प्रस्तुत गर्नुले स्वयंलाई बुझाउँछ भने प्रथम पुरूषको बहुवचनको प्रयोगले कुनै दृष्टिकोणप्रति मधुरो सामुहिक जिम्मेवारी दर्शाउँछ,” डा. तानले भने। अर्को तरिकाले भन्दा, पूरै समूहको मानसिकता परिवर्तन गर्नुभन्दा एउटा व्यक्तिको मानसिकता परिवर्तन गर्नु सजिलो हुन्छ। त्यसैले “हामी” प्रयोग गरेर राय प्रस्तुत गर्ने व्यक्तिले नजानिकनै सूक्ष्म रूपमा तपाईंको तर्क विरूद्ध पर्खाल बनाइरहेको हुनसक्छ। यस्तो अवस्थामा अघि बढ्नु नै उपयुक्त हुनसक्छ।
एक हरफभन्दा लामा प्रतिक्रियाहरू बढि प्रोत्साहनपूर्ण हुने अनुसन्धाताले पत्ता लगाएका छन्। आफ्नो तर्कलाई सहयोग गर्ने प्रष्ट प्रमाण उपलब्ध गराउनु पनि प्रभावकारी हुन्छ। सुन्दा सामान्य लागे पनि यो अलि आश्चर्यजनक निष्कर्ष हो। अध्ययन अनुसार “हाम्रो निष्कर्षले पनि प्रमाणहरू पेश गर्नु उपपयुक्त हुने देखाएको छ। यो ब्याकफायर इफेक्ट सम्बन्धी अध्ययन विपरीत छ तपाईंको गहिरो धारणालाई विरोधाषपूर्ण प्रमाणहरूले चुनौती दिए, विश्वास अझ बलियो हुन्छ।”
मानिसहरूलाई आफू गलत भएको स्वीकार्न प्राय: कठिन हुन्छ तर कम्तिमा यो अध्ययनको सन्दर्भमा प्रमाणहरूले मानिसको धारणा परिवर्तन गर्न सहयोग गर्दछ।
आफ्ना प्रतिक्रियालाई सीमित राख्नुहोस्
दुई तीन पटक प्रतिक्रिया दिएपछि कसैलाई फकाउने सम्भावना घट्न थाल्छ। अध्ययनमा एक, दुई र तीनोटा प्रत्युत्तरले कसैको धारणा परिवर्तन गराउने सम्भावना बढाउने देखिएको छ तर तीन नै अन्तिम प्रयास हो। त्योभन्दा धेरै प्रत्युत्तरहरू औचित्यहिन देखिनसक्छ।
धारणा बदल्ने प्रोत्साहन गर्नेभन्दा पनि लडाइँ हुने सम्भावना हुनसक्छ। मञ्च आफैंमा पनि महत्वपूर्ण हुने डा. तानले बताए। चेञ्जमाइभ्युमा जस्तै छलफलमा पालन गर्नुपर्ने स्पष्ट र पारदर्शी नियम भए ट्रोलिङ नियन्त्रण हुने सम्भावना हुन्छ। “मानिसहरूका लागि लडाइँको मैदान तयार गर्नुभन्दा पनि साझा धरातलका लागि केही नियम बनाउनु यस्ता मञ्चहरूका लागि उपयोगी हुनसक्छ,” उनले भने। त्यसैले आफू संलग्न हुने अनलाइन मञ्चबारे दोहोर्याैएर विचार गर्नु फाइदाजनक नै हुने देखिन्छ।
पक्कै पनि कहिलेकाँही कुनै अनलाइन बहसमा संलग्न नभएकै बेस हुन्छ। कसैले ट्रोल गर्दा घृणित वा आपत्तिजनक भाषा प्रयोग गरेर रिस उठाउन खोजे त्यो बहसबाट विदा हुनु नै उत्तम हुन्छ। बहस सधैं जितका लागि हुँदैन। कहिलेकाहिँ कुनै विषयमा भिन्न राय वा दृष्टिकोण सम्मानपूर्व बाँड्नु पनि यसको औचित्य हो।
वास्तविक जीवनमा यसो गर्नु हामीमध्ये धेरैका लागि सजिलो हुनसक्छ। बोलीको तान र शरिरको हाउभाउले हामीलाई सङ्केत गर्छ। अनलाइन जगतमा ती सामाजिक सङ्केतबारे अझ बढी सचेत भए हाम्रो डिजिटल आवेग पनि शान्त गर्न सहयोग पुग्थ्यो कि?