नेपाली युवा उद्यमी मञ्चको पोखरा-लोमान्थाङ मोटर र्याली
कात्तिक २० गतेसम्म हुने उक्त मोटर र्यालीको नारा ‘आन्तरिक पर्यटनका लागि सबैसँगै’ रहेको छ। नेपाल पर्यटन बोर्ड गण्डकी शाखा प्रमुख काशीराज भण्डारीले झण्डा हल्लाएर र्याली उद्घाटन गर्दै सहभागी टोलीलाई बिदाइ पनि गरे।
अन्नपूर्ण (कास्की), कात्तिक १७ : नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) ले पोखरा–लोमान्थाङ मार्गमा मोटर र्याली आयोजना गरेको छ। कास्कीको पोखरादेखि चीन र नेपालको सिमाना कोरलासम्मको र्याली आज पोखराबाट सुरु भएको हो।
कात्तिक २० गतेसम्म हुने उक्त मोटर र्यालीको नारा ‘आन्तरिक पर्यटनका लागि सबैसँगै’ रहेको छ। नेपाल पर्यटन बोर्ड गण्डकी शाखा प्रमुख काशीराज भण्डारीले झण्डा हल्लाएर र्याली उद्घाटन गर्दै सहभागी टोलीलाई बिदाइ पनि गरे।
कोरोनापछि थलिएको पर्यटन क्षेत्रलाई यस र्यालीले माथि उकास्न सहयोग गर्ने प्रमुख उनले बताए। यस कार्यक्रमले आपसी भाइचारा बढाउँदै आन्तरिक तथा बाह्य पर्यटनमा सहयोग पुग्ने प्रमुख भण्डारीको भनाइ थियो।
भविष्यमा उद्योगको क्षेत्रमासमेत योगदान पुर्याउनसक्ने युवा उद्यमीले र्याली आयोजना गर्नु नै हरेक क्षेत्रबाट महत्वपूर्ण रहेको उहाँले बताए।
सातवटै प्रदेशका विभिन्न च्याप्टरका ६० भन्दाबढी सदस्य तथा युवा उद्यमी र्यालीमा सहभागी छन्। आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न मोटर र्याली देशव्यापीरुपमा आयोजना गर्दै जाने नेपाली युवा उद्यमी मञ्चका केन्द्रीय अध्यक्ष रितेश लामिछानेले जानकारी दिए। मञ्चले यसभन्दाअघि मेची महाकाली मोटर र्याली गरिसकेको छ।
स्थानीय संस्कृतिलाई प्रचारप्रसार गर्न यसले टेवा पुर्याउने नेपाली युवा उद्यमी मञ्च पोखरा च्याप्टरका अध्यक्ष सुयस मल्लले बताउनुभयो। यसबाट मुस्ताङको भौगोलिक अवस्था र संस्कृति बुझ्नाका साथै सबै च्याप्टरका पदाधिकारीबीच भेटघाट गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको र यसबाट गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा केही भए पनि राहत मिल्ने उनले उल्लेख गरे।












