चुनाव निष्पक्ष हुन्छ : शिक्षामन्त्री पौडेल

बागलुङ, कात्तिक १६ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आसन्न सङ्घ र प्रदेशको चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताउका छन। बडिगाड गाउँपालिका–३ सिसाखानीमा आज आयोजित सत्ता गठबन्धनको चुनावी कार्यक्रममा उनले मतदातालाई स्वतन्त्रपूर्वक आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरे।
'सरकारले निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउँछ,' मन्त्री पौडेलले भने। बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका मन्त्री पौडेलले सो क्षेत्रबाट भारी मतान्तरसहित गठबन्धनले जित्ने दाबी गरे। 'पन्ध्र हजार मतले हामी चुनाव जित्छौँ, यसमा कुनै शङ्का छैन,' उनले भने।
मुद्दा र देशको आवश्यकताका आधारमा पाँच दल एकठाउँ उभिएको मन्त्री पौडेलले बताए। संविधानका उपलब्धिको रक्षाका लागि लोकतान्त्रिक शक्तिबीच चुनावी गठबन्धन बनेको उनको भनाइ छ । मन्त्री पौडेलले चुनावपछि अहिलेकै गठबन्धनले देशलाई राजनीतिक स्थायित्व दिने र संविधानको प्रस्तावनामा उल्लेख भएबमोजिम समाजवादोन्मुख राज्य व्यवस्थाको आधार खडा गर्ने बताए।
सो क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवार मञ्जु शर्मा चालिसेसँग उनको प्रतिस्पर्धा हुँदैछ । विसं २०७४ को चुनावमा पनि मन्त्री पौडेल बागलुङ २ बाट निर्वाचित भएका थिए।












