Kathmandu Press

बन्द हुने अवस्थामा प्रदेश नं १ को जैविक मल उद्योग

बन्द हुने अवस्थामा प्रदेश नं १ को जैविक मल उद्योग

पथरी, कात्तिक १६ : पछिल्लो पाँच वर्षदेखि सञ्चालनमा आएको प्रदेश नं १ को उचित जैविक मल उद्योग बन्द हुने अवस्थामा पुगेको छ । विसं २०७४ मा मोरङको पथरीशनिश्चरे–२ मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेकाे प्रदेश नं १ को एक मात्र जैविक मल उद्योग सञ्चालनमा आए देखिनै घाटामा चल्दै आएको छ ।

रु तीन करोड ५० लाखको लगानीमा १५ वटा कृषि सहकारी संस्था र तीन वटा किसान समूहले एक बिघा क्षेत्रफल भाडामा लिएर उद्योग सञ्चालनमा ल्याएका हुन् । जैविक मल उद्योग काठमाडौँले उपत्यका बाहिर प्रदेश नं १  शाखा सञ्चालनमा ल्याए पनि प्रदेशमा नै बजार नपाउँदा उद्योग घाटामा चलिरहेको हो ।

Hardik ivf

प्रतिघण्टा एक टन मल उत्पादन गर्ने क्षमता रहेको उद्योगले माग नभएका कारण वार्र्षिक तीन सय टन मात्रै मल उत्पादन गरिरहेको छ । मलको अभाव र माटोको संरक्षण गर्ने उद्देश्यसहित सञ्चालनमा आएको उद्योगले सरकार र स्थानीय पालिकाको सहयोग नपाएका कारण बन्द हुने अवस्थामा पुगेको हो । तर यता सरकारले छठलगत्तै ६० हजार मेट्रिक टन रासायनिक मल भित्र्याउने भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको कृषि सामग्री कम्पनीले तिहार र छठ सकिए लगत्तै युरिया र डिएपी मल भित्र्याउने कम्पनीका प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले जानकारी दिए।

पथरी शनिश्चरेका पूर्वनगर प्रमुख दिलीपकुमार राईले वार्षिक १० लाखको मल खरिद गरी किसानलाई वितरण गर्दै आएका थिए। तर उक्त सहयोग पनि नयाँ जनप्रतिनिधि आएलगत्तै रोकिएपछि उद्योग सङ्कटमा परेको छ । सरकारले बाहिरबाट खरिद गर्ने रासायनिक मलको सट्टा जैविक मलको प्रयोग गरे बाहिरिने अर्बौ रुपैयाँ रोकिने उद्योगका सञ्चालक कृष्णचन्द्र महर्जन बताउछन। जैविक मलमा सरकारले चासो देखाए, किसानलाई अभिप्रेरित गरे माटोको सुरक्षा र अन्न उत्पादनमा वृद्धि हुने उनले बताए।

जैविक मल प्रयोगमा ल्याए किसानको र राज्यको समस्या दुवै हल हुनुका साथै धेरैले रोजगारी पाउने छन् । तर नेपाल सरकारले रासायनिक मल युरिया प्रतिमेट्रिकटन छ सय ९३ डलरले खरिद गर्दैछ । सरकारले बाहिरबाट खरिद गरेर ल्याएको युरिया मल किसानलाई अनुदानमा उपलब्ध गराउँदै आएको छ । उद्योगले मल बनाउन धानको ढुटो (ब्रन), प्रेसमड, चिउरीको पिना, तोरीको पिना, हड्डीको धुलो र कृषि चुनको प्रयोग गर्ने गरेको छ । आठ केजी मलले एक कठ्ठा जमिनलाई पर्याप्त हुने बताइएको छ ।

प्रकाशित मिति: १९:१५ बजे, बुधबार, कात्तिक १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्