आइपिओ जारी गर्ने तयारीमा भायनेट

काठमाडौं, कात्तिक १५ : नेपालको अग्रणी इन्टरनेट तथा टिभी सेवा प्रदायक मध्येको एक भायानेट कम्युनिकेशन प्रा.लि ले यही वर्षको जुलाई १७ मा आफ्नो नाम बदलेर भायानेट कम्युनिकेसन लिमिटेड राखेको थियो। कम्पनी चाँडै आफ्नो इनिसियल पब्लिक अफरिंग (आईपिओ० जारी गर्ने तयारी गरेकोले नाम परिवर्तन गरेको हो।
सन् १९९९ मा निजी इन्टरनेट सेवा प्रदायकको रूपमा स्थापित भायानेट देशको सञ्चार तथा प्रविधि क्षेत्रमा आफ्नो इनोभेटिभ प्रयासहरूको लागि परिचित छ। सन् २०११ मा भायानेटले पहिलो चोटी फाइबर-टू-द-होम FTTh भनेर चिनिने फाइबर अप्टिक्स इन्टरनेटको सुरुवात गरेर नेपाललाई इन्टरनेटको नयाँ युगमा प्रवेश गर्न मद्दत गर्यो। सुस्त गतिको इन्टरनेटबाट आजित ग्राहकहरूका लागि कम्पनीले डेडीकेटेड र द्रुत गतिको इन्टरनेट प्रदान गरेर व्यक्ति तथा संस्थाहरूका लागि विभिन्न अवसरहरू खोलेको थियो।
त्यस्तै सन् २०१६ मा कम्पनीले नेपालमै पहिलो आईपीटीभी सेवाहरू मध्य एक ल्याएर आफ्नो इनोभेटिभ कम्पनीको परिचयलाई थप सुदृढ बनायो। आईपीटीभी सेवाको सुरुवातले मुख्यतया केबल टेलिभिजनको प्रभुत्व रहेको समयमा ग्राहकलाई आधुनिक र उत्कृष्ट विकल्प प्रदान गरेको कम्पनीको दाबी छ। भायाटिभीले पज एन्ड प्ले, भिडियो अन डिमान्ड, क्याच(अप टिभी जस्ता सेवा सुविधा पनि प्रदान गर्दै आएको छ ।
कम्पनीले नेपालमा रहेका आफ्ना सबै ग्राहकहरूलाई सर्वोत्तम मूल्यमा उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्न आफ्ना सेवाहरूलाई निरन्तर रूपमा अपग्रेड गर्दै आएको छ। उपत्यका र सहर क्षेत्रमा बलियो रुपमा स्थापित भई सकेको कम्पनी अहिले देशैभर आफ्नो सेवा विस्तारको चरणमा छ। भायानेट आजको दिनमा देशका ३० सहरमा विस्तारित भईसकेको छ। भायनेटले आगामी दिनहरूमा कम्पनीले अझ धेरै सहर तथा गाउँमा आफ्नो सेवा विस्तार गरी धेरै भन्दा धेरै ग्राहकहरूलाई सेवा प्रदान गर्ने विश्वास लिएको छ। नेपालमा अग्रणी इन्टरनेट र आईपीटीभी सेवा प्रदायकको रूपमा कम्पनीले व्यक्तिगत र व्यावसायिक उपयोगका लागि विभिन्न डिजिटल सेवाहरू प्रदान गर्दै आएको छ।
कम्पनीको हालको नाम परिवर्तन, सार्वजनिक जाने तयारी र कम्पनीको द्रुत विस्तारले कम्पनीको लामो र ग्राहकप्रति समर्पित प्रयासहरूलाई देखाउँछ। बैंकिङ र वित्त क्षेत्र बाहिर सार्वजनिक रूपमा कारोबार गर्ने कम्पनीहरूको अभाव रहेको बजारमा यो समाचार लगानी कर्ताको लागि आकर्षक बन्न सक्ने कम्पनीको दाबी छ ।
संचारको पूर्वाधार रहेको क्षेत्रमा आफ्नो नाम बनाएको भायानेट फाईदामा चलिरहेको कम्पनी हो। यसको लामो र उल्लेखनीय इतिहास, विकासको वर्तमान चरण र यसको इनोभेसन प्रतिको निरन्तर विश्वास र लगानी सकारात्मक र सबल पक्ष रहेको कम्पनीले बताएका छन् ।











