बाँकेमा नमूना मतदान सुरु
नेपालगञ्ज, कात्तिक १६ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि बाँकेमा आजदेखि नमूना मतदान कार्यक्रम सुरु भएको छ।
जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको नमूना मतदान कार्यक्रम २१ गतेसम्म हुने छ । नमूना मतदानमा मतदाता लाइनमा कसरी बस्ने, ज्येष्ठ नागरिकलाई मताधिकार प्रयोग गर्न कसरी दिने, मतदान गर्ने विधिलगायतका विषयमा जानकारी दिइने जिल्ला निर्वाचन कार्यालय, बाँकेकी प्रमुख रमा पन्तले जानकारी दिए।
जिल्लाका नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र राप्ती सोनारी गाउँपालिकामा नमूना मतदान कार्यक्रम सञ्चालन गर्ने प्रमुख पन्तले जानकारी दिए। स्थानीय जनसहभागितामा आज जानकी र खजुरा गाउँपालिकामा नमूना मतदान अभ्यास तीन घण्टा र निर्वाचनका विषयमा एक घण्टा प्रस्तुतिकरण भएको निर्वाचन कार्यालयले जनाएको छ।
जिल्लामा १७ गते नरैनापुर, १८ गते राप्तीसोनारी, १९ गते डुडुवा र नेपालगञ्ज उपमहानगरपालिका, २० गते बैजानाथ र २१ गते कोहलपुर नगरपालिकामा एक घण्टा निर्वाचनसम्बन्धी प्रस्तुतिरकण र तीन घण्टा नमूना मतदान अभ्यास हुने छ । ‘मतदान गर्नका लागि मतदातालाई अभ्यास होस् भनेर यस्तो कार्यक्रम सञ्चालनमा ल्याइएको हो,’ प्रमुख पन्तले भने।
उनले यसपटकको निर्वाचनमा चार प्रकारका मतपत्र भएको जानकारी दिनुहुदै प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिकको दुई मतपत्र र प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक तर्फको दुई मतपत्र रहेका छन्। नमूना मतदानमा मतपत्रमा देखिएको भिन्नता र त्यसमा कसरी मतदान गर्ने भन्ने विधि पनि सिकाइएको पन्तले बताए।