Kathmandu Press

राजनीति र विकासलाई सँगै अगाडि बढाउँछौँ : वरिष्ठ नेता पौडेल

राजनीति र विकासलाई सँगै अगाडि बढाउँछौँ : वरिष्ठ नेता पौडेल

तनहुँ, कात्तिक १४ : नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले राजनीतिसँगै विकासलाई अगाडि बढाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन।

तनहुँको देवघाट गाउँपालिका–४ सिन्च्याङगढी, गाईघाट, मोहोरियामा आज आयोजित मतदाता भेटघाटका क्रममा वरिष्ठ नेता पौडेलले विकास अहिलेको मुख्य प्राथमिकता रहेकाले राजनीतिसँगै विकासलाई अगाडि बढाउनुपर्ने बताए। 'जनतालाई अहिले चाहिएको विकास हो, हामी विकासका लागि प्रतिबद्ध छौँ,' वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार पौडेलले भने, 'देशमा राजनीतिक क्रान्ति सफल भइसकेकाले अबको मुख्य एजेण्डा विकास हो।'

सुशासनको जग बसाउन र गाउँमा रोजगारी र आम्दानी दिने काम बाँकी रहेकाले आफू त्यो अभियानमा लागेको पौडेलको भनाइ थियो। 'देशलाई सुशासन दिएर विकास गरेर युवालाई विदेशिननपर्ने, रोजगारी सिर्जना गर्नेतर्फ ध्यान दिन्छौँ,' पौडेलले भने।

वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट तनहुँ १ प्रदेश २ का उम्मेदवार हरिबहादुर चुमानले उपलब्धि रक्षाका लागि गठबन्धन गरिएको र गठबन्धनले निर्वाचन जित्नुपर्ने बताए। वरिष्ठ नेता पौडेल शुक्रबारदेखि घरदैलो अभियानमा व्यस्त छन। पौडेलले शनिबार देवघाट गाउँपालिका–१ र २ को खाल्टे, बैदी, कोटा, आइतबार देवघाट गाउँपालिका–५ कालिमाटी लगायतका ठाउँमा घरदैलो गरेका थिए। पौडेलको घरदैलो अभियान कात्तिक १५, १६ र १७ गते आँबुखैरेनी तथा १९, २० र २१ गते बन्दीपुर गाउँपालिकामा सञ्चालन हुनेछ।

प्रकाशित मिति: १८:२० बजे, सोमबार, कात्तिक १४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्