सदर मत बढाउन मतदाता शिक्षालाई प्राथमिकता साथ अघि बढाउने
छापा माध्यम, रेडियो, टेलिभिजन, घरदैलोलगायत आम पहुँचयोग्य सञ्चारमाध्यमबाट पनि सवै मतदाता समेटिने गरी बृहत्रुपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ ।
काठमाडौँ, कात्तिक १४ : निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा सूसुचित मतदाताको सहभागिता बढाइ बदर मत प्रतिशत घटाउन र सदर मत प्रतिशत बढाउन यस पटक मतदाता शिक्षा कार्यक्रमलाई घनिभूतरुपमा अघि बढाउने भएको छ।
आयोगले स्वास्थ्य स्वयंसेविका परिचालन गरी निर्वाचनका लागि तयार गरिएको पम्प्लेट र पोष्टरलगायत सामग्री मतदाताको घर–दैलोमै पु¥याएर मतदाता शिक्षा प्रदान गर्ने तयारी गरेको छ । निर्वाचनका लागि तयार गरिएका त्यस्ता पम्प्लेट र पोष्टर सबै जिल्लामा पठाइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
मतदातालाई मतदानका लागि तयारी अवस्थामा राख्न निर्वाचन व्यवस्थापन गर्ने निकायद्वारा सञ्चालन गरिने शिक्षालाई मतदाता शिक्षा भनिन्छ । मतदातालाई लक्ष्य गरी मतदानमा तिनको अधिक सहभागिताका लागि शिक्षा प्रदान गरिने उद्देश्य रहेको यस कार्यक्रमले मतदान गर्ने सही तरिका र मतदानको महत्वबारे बोध गराउँछ । छापा माध्यम, रेडियो, टेलिभिजन, घरदैलोलगायत आम पहुँचयोग्य सञ्चारमाध्यमबाट पनि सवै मतदाता समेटिने गरी बृहत्रुपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ ।
आगामी निर्वाचनका लागि यस पटक १८ भाषामा तयार गरिएको सामाग्रीलाई केन्द्रीयस्तरबाट प्रचार प्रसार गरिने भएको छ । आयोगले यही कातिक १८ गतेदेखि मङ्सिर १ गतेसम्म प्रभावकारीरुपमा मतदाता शिक्षा कार्यक्रम अघि बढाउन लागेको हो । मतदाताको सहभागिता अधिक बृद्धि गराउन, सदर मतप्रतिशत बढाउन तथा हर तवरले सूसूचित मतदाता तयार गर्ने उद्देश्यले मतदाता शिक्षा सञ्चालन गर्न लागिएको हो ।
विगतका निर्वाचनदेखि नै यस कार्यक्रममा स्वास्थ्य स्वयम्सेवीकाको योगदान महत्वपूर्ण रहदैआएको थियो । यस पटक पनि स्थानीय तहले उहाँहरुलाई नै न्यूनतम १० हजार भत्ता उपलब्ध गराउन आयोगले निर्देशन दिइसकेको छ ।












