Kathmandu Press

भैरहवादेखि तनहुँसम्म साइकल यात्रा

भैरहवादेखि तनहुँसम्म साइकल यात्रा

दमौली, कात्तिक १४ : आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित भैरहवाबाट सुरु भएको साइकलयात्राको टोली तनहुँ आइपुगेको छ । साइकल सिटी भैरहवाको आयोजनामा शुक्रबारदेखि सुरु भएको साइकलयात्राको टोली आइतबार तनहुँ आइपुगेको हो । उक्त टोलीलाई शुक्रबार गृहमन्त्री बालकृष्ण खाणले बिदाइ गरेका थिए। 

साइकलयात्री तेस्रो दिन तनहुँको व्यास नगरपालिका–५ मानुङकोट आइपुगेका छन् । तनहुँको भिमाद, खैरेनीटार, जामुने हुँदै टोली साँझ मानुङकोट पुगेको हो । साइकल सिटी भैरहवाका अध्यक्ष सूर्यकुमार सारु मगरले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित साइकलयात्रा गरिएको जानकारी दिए। ‘साइकल पर्यटनमार्फत् आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित साइकलमा यात्रा गरेका हौँ,’ उनले भने, ‘हाम्रो यो यात्रा निरन्तर जारी रहन्छ ।” गत वर्ष अर्घाखाँचीमा साइकलयात्रा गरिएको उनले बताए।

उनले भने, ‘मानिसको दैनिक जीवनमा साइकल महत्वपूर्ण साधन बनेको छ, महँगिदो पेट्रोलका कारण पनि साइकल प्रयोगमा जोड दिँदै आएका छौँ । स्वास्थ्यका हिसाबले पनि साइकल प्रभावकारी छ।’

Hardik ivf

भैरहवादेखि सुरु भएको यात्रा तनहुँको व्यास नगरपालिका–५ मानुङकोट पुगेर टुङ्गिनेछ । मानुङकोटसम्म पुगेर चितवन हुँदै भैरहवा फर्किने कार्यक्रम तय भएको छ । भैरहवा साइकल सिटीमा ७० जना सदस्य आबद्ध भए पनि साइकल यात्रामा १६ जना सहभागी छन् । ‘सबैजनाको अनुकूल मिलेन, कोही व्यापार व्यवसायमा हुनुहुन्छ, कोही सरकारी जागिरमा हुनुहुन्छ, समय मिलाएर प्रतिनिधित्वमूलक साइकलयात्रा गरेका छौँ,’ उनले भने। 

व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरै, वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले साइकलयात्रीलाई स्वागत एवं सम्मान गर्नुभएको छ । सो क्रममा व्यास नगरपालिकाका उपप्रमुद दरैले पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको मानुङकोटको प्रचारप्रसारका लागि साइकल यात्राले सहयोग पुग्ने बताए। 

कुहिरो र सूर्योदय अवलोकनका लागि पर्यटक मानुङकोट आउने क्रम बढेको र साइकलयात्राले यहाँको पर्यटनमा थप टेवा पुग्ने वडाध्यक्ष श्रेष्ठले बताए। 

यस्तै साइकलयात्रीलाई भिमाद नगरपालिकाले स्वागत एवं सम्मान गरेको छ । भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले पर्यटन प्रवद्र्धनका लागि थालिएको प्रयासले सार्थक रुप लिने बताए। 

साइकलयात्रीलाई म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ पँधेरा सामुदायिक वन उपभोक्ता समूहले पनि स्वागत गरेको छ । सामुदायिक वनभित्र निर्मित रुखमाथि बनेको घर (ट्रि हाउस) मा साइकलयात्रीलाई स्वागत गरिएको हो । 

साइकलयात्री थीरेन्द्र श्रेष्ठले पर्यटन प्रवद्र्धनका लागि रुखमाथि बनेको घर एकदमै राम्रो रहेको प्रतिक्रिया दिनुभयो । म्याग्दे–२ का वडाध्यक्ष शिवबहादुर रानाभाट, ज्यानटाङ पँधेरा सामुदायिक वनका उपाध्यक्ष सरस्वती रानाभाटलगायतले साइकलयात्रीलाई फूलमालाले स्वागत गरेका थिए। 

यात्राको पहिलो दिन भैरहवाबाट सुरु भई बुटवल, पाल्पा बर्तुङ, आर्यभञ्ज्याङ, चिदीपानी, हुमिन हुँदै ताहुँ धोबाधी, दोस्रो दिन धोबाधीबाट यात्रा सुरु गरी रम्भादेवी मन्दिर, ताहुँ बजार, बिर्कोट, रामपुरसम्म यात्रा सम्पन्न भएको थियो । तेस्रो दिन भिमाद बजार हुँदै खैरेनीटार, जामुने भञ्ज्याङ, चापाघाट हुँदै मानुङकोटसम्म साइकलयात्रा गरिएको थियो।   

प्रकाशित मिति: ११:५६ बजे, सोमबार, कात्तिक १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्