Kathmandu Press

बस्ती जोगाउन नसके अर्को पटक भोट माग्न आउँदिन : नेता लेखक

बस्ती जोगाउन नसके अर्को पटक भोट माग्न आउँदिन : नेता लेखक

महेन्द्रनगर, कात्तिक १३ : पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले महाकालीपारिको दोधारा चाँदनी नगरपालिकामा जोगबुढा नदी कटान नियन्त्रण पाँच वर्षमा गर्न नसके अर्को पटक भोट माग्न नआउने बताएका छन।

कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ बाट बाम–लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका नेता लेखकले आइतबार दोधारा चादँनी–१० मा आयोजित चुनावी कार्यक्रममा आगामी पाँच वर्षभित्र स्थानीय जोगबुढा नदीबाट बस्ती जोखिममा पर्न नदिने प्रतिबद्धता व्यक्त गरेका हुन।

'हामीलाई जिताएर पठाउनुहोस, यहाँको नदी कटानको समस्या बाँध बाँधेर जोगाउन सकिएन भने अर्को पटक भोट माग्नै आउँदिन,' नेता लेखकले भने, 'यहाँको नदी कटान नियन्त्रणका लागि प्रतिबद्धता व्यक्त गर्दछु।'

दोधारा चादँनीलाई महाकाली नदीमा झोलुङ्गे पुल निर्माण गरेर मूलधारसित जोडेका नेता लेखककै पहलमा यहाँ चार लेनको पक्की पुल निर्माणको अन्तिम चरणमा छ।

'सुक्खा बन्दरगाहका लागि अहिलेकै सरकारले बजेट विनियोजन गरेर यसै वर्षदेखि काम अघि बढ्छ,' उनले भने, 'दोधारा चादँनीका हरेक सडक कालोपत्रेदेखि नदी नालामा पुलहरू म आफैँ भौतिक पूर्वाधारमन्त्री हुँदा बजेट आएर बनेको अवगत नै छ।'

प्रकाशित मिति: १९:५५ बजे, आइतबार, कात्तिक १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्