Kathmandu Press

गाउँमा सुविधा पुर्‍याऔँ, अब आम्दानीको अवसर सिर्जना गर्छौँ : वरिष्ठ नेता पौडेल

गाउँमा सुविधा पुर्‍याऔँ, अब आम्दानीको अवसर सिर्जना गर्छौँ : वरिष्ठ नेता पौडेल

तनहुँ, कात्तिक १३ : नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले गाउँ–गाउँमा सुविधा पुगेकाले अब आम्दानीको अवसर सिर्जना गर्ने पहिलो प्राथमिकता रहेको बताएका छन।  

तनहुँको देवघाट गाउँपालिकास्थित कालीमाटीमा आज घरदैलो गर्दै वरिष्ठ नेता पौडेलले गाउँमा रोजगारी र आम्दानी अबको प्राथमिकता रहेको बताए। 'गाउँ गाउँमा बाटो, खानेपानी, शिक्षा, स्वास्थ्यको सुविधा पुगिसकेको छ, अब गाउँमै रोजगारी र आम्दानीको अवसर सिर्जना गरेर जनतालाई गाउँमै बसुँबसुँ बनाउँछौँ,' पौडेलले भने।

विगतमा सेवा सुविधाको खोजीमा जनताहरु गाउँ छाडेर शहरमा बसाइसराइ गरेको चर्चा गर्दै पौडेलले गाउँमै सेवासुविधा पुगेपछि अब गाउँमै बस्न आग्रह गरे। 'राजनीति जागिर नभई सेवा भएकाले जनताको सेवाका लागि नै राजनीति गर्दै आएका हौँ,' पौडेलले भने, 'जनताका हरेक समस्या समाधानका लागि प्रतिबद्ध छौँ।'

तनहुँ क्षेत्र नम्बर १ प्रदेश २ का लागि वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार हरिबहादुर चुमानले नेपाल अनुकुलको विकासका लागि वर्तमान गठबन्धन सरकार प्रतिबद्ध रहेको बताए। वरिष्ठ नेता पौडेलले शुक्रबारदेखि पुनः घरदैलो अभियान सुरु गरेका छन। पौडेलले व्यास नगरपालिका–३ शान्तिनगर, देवघाट गाउँपालिका–१ र २ को बैदी, खाल्टे, कोटा लगायतमा घरदैलो सम्पन्न गरेका छन।  

पौडेलले कात्तिक १४ गतेसम्म देवघाट, १५, १६ र १७ गते आँबुखैरेनी तथा १९, २० र २१ गते बन्दीपुरका विभिन्न ठाउँमा घरदैलो गर्नेछन।

प्रकाशित मिति: १९:३५ बजे, आइतबार, कात्तिक १३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्