राजनीतिक क्रान्ति सफल पार्न आर्थिक क्रान्ति अनिवार्य छ : अध्यक्ष प्रचण्ड

गाेरखा, कात्तिक १३ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक क्रान्ति सफल पार्न आर्थिक क्रान्ति अनिवार्य रहेको बताएका छन। आफ्नो निर्वाचन क्षेत्रका मतदातासँगको भेटघाटका लागि गोरखामा रहेका उनले आज पालुङटार नगरपालिकाको सातदोबाटेमा आयोजित जनभेटघाटमा नेपालको अहिलेसम्मको क्रान्ति सफल पार्नका लागि अब आर्थिक क्रान्ति सुरु गर्ने बताए।
'हामी (वाम–लोकतान्त्रिक गठबन्धन) यो राजनीतिक परिवर्तनलाई दीगो र सफल पार्नका लागि आर्थिक क्रान्ति अनिवार्य छ भन्ने निष्कर्षमा हामी पुगेका छौँ,' अध्यक्ष दाहालले भने, 'स्थितरता र समृद्धिका लागि पनि यो गठबन्धन अहिलेको आवश्यकता बनेको छ।' उनले देशमा राजनीतिक परिवर्तन भए पनि जनताले अहिलेसम्म प्रत्यक्ष भोग्ने, देख्ने र महसुस गर्ने गरी आर्थिक समृद्धि नहुँदा राजनीतिक परिवर्तन नहुने खतरा बढेको बताए।
उनले गोरखाबाट उम्मेदवार बन्न पाउँदा आफूले गर्वको महसुस गरेको बताए। अध्यक्ष दाहालले आसन्न मङ्सिरको निर्वाचन दु्ई विचार प्रवृत्ति बीचको गठबन्धन आमुन्ने सामुन्ने भएको भन्दै यो निर्वाचनको विशेष महत्वको रहेको बताए। ‘सधैँ यस्तो त हुँदैन तर यो पटक भएको छ, उनले भने, 'हामी वाम–लोकतान्त्रिक गठबन्धन संविधानको रक्षा गर्ने स्थिरता र समृद्धिका लागि गठबन्धन हो भने अर्कोतर्फ राजावादी सामान्तवादीहरुको गठबन्धन बनेको छ।'












