Kathmandu Press

रुकुमपश्चिममा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिबद्धतापत्र सार्वजनिक

रुकुमपश्चिममा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिबद्धतापत्र सार्वजनिक

मुसिकाेट, कात्तिक १२ : वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट रुकुमपश्चिमका प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारले प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । गठबन्धनका तर्फबाट आगामी मङ्सिर ४ को निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)का प्रतिनिधिसभा सदस्यका उम्मेदवार जनार्दन शर्मा तथा प्रदेशसभा (१) का उम्मेदवार महेन्द्र केसी र (२)का उम्मेदवार राजकुमार शर्माको प्रतिबद्धतापत्र सार्वजनिक भएको हो ।

उम्मेदवारको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार शर्माले प्रतिबद्धतापत्र सावर्जनिक गरे। विसं २०६४ पछि जिल्लामा भएको समग्र विकास र अबको पाँच वर्षमा गर्ने कामसहितको प्रतिबद्धतापत्र सार्वजनिक गरिएको हो । प्रतिबद्धतापत्र सार्वजनिक गर्दै शर्माले जनप्रतिनिधि वा संवैधानिक भूमिकामा रहँदा विगतमा जस्तै अब पनि रुकुमको हितमा काम गर्ने सङ्कल्प गरे।

Hardik ivf

'पहिलो कार्यकाल, २०६४ मा शान्ति प्रक्रिया स्थापित गर्ने, संविधानमा जनअधिकार उल्लेख गर्न सडक र सदन सङ्घर्षका साथ विकासका आफ्नै मौलिक तय गर्न बित्यो, दोस्रो कार्यकाल २०७० मा सडक, विद्युत्लगायत पूर्वाधार विकास र संविधान निर्माणमा बित्यो, तेस्रो कार्यकाल २०७४ समग्र पूर्वाधार विकास, उत्पादन र सम्भावनाका आधार तयार गर्न बित्यो,' प्रतिनिधिसभा सदस्यका उम्मेदवार शर्माले भने।

अब आसन्न निर्वाचनमार्फत प्राप्त हुने चौथो कार्यकाल गठबन्धन दलको संयुक्त पहलमा गुणात्मक पूर्वाधार, रोजगारी सिर्जना र गरिबी अन्त्यका लागि कृषिको आधुनिकीकरण एवं औद्योगीकरण, नयाँ प्रविधियुक्त शैक्षिक विकाससहित सामाजिक न्याय स्थापनामा आर्थिक उत्पादन एवं सामाजिक, सांस्कृतिक रुपान्तरण अभियानमार्फत सुशासनसहित जनताको जीवनमा परिवर्तनको अवधि हुने उनले प्रतिबद्धता व्यक्त गरे।

जिल्लामा मेडिकल कलेज स्थापना गर्ने योजना अर्थमन्त्रीसमेत रहनुभएका प्रतिनिधिसभा सदस्यका उम्मेदवार शर्माले सुनाए। जिल्लामा रहेका पालिका अस्पताल र अन्य अस्पतालको सञ्जालीकरण गरेर जिल्लामै ठुलाठूला रोगको उपचार र जनशक्ति उत्पादनका लागि मेडिकल कलेज स्थापना गरिने उनले बताए। पूर्ण नभएका पालिका अस्पताललाई पूर्णता दिने र चौरजहारी अस्पताल तथा जिल्ला अस्पताललाई स्तरोन्नति गरी एक सय शय्याको बनाउने उनले बताए।

जिल्लामा विकासका सबै आयामको जग बसालिएको र अब त्यसलाई पूरा गर्न जिल्लाका सबै दलको साथ र सहयोग लिएर काम गर्ने बताए। त्यसैका लागि पनि गठबन्धन भएको र आफूहरूलाई गठबन्धनले साझा उम्मेदवार बनाएको उनले स्पस्ट पारे। यो माओवादी केन्द्र र उम्मेदवारका तर्फबाट प्रतिबद्धता भएको बताउँदै उनले गठबन्धनका तर्फबाट साझा प्रतिबद्धता केही दिनमा सार्वजनिक गर्ने उम्मेदवार शर्माले जानकारी गराए।

एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहको रुकुमपश्चिममा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट सबै क्षेत्रमा माओवादी केन्द्रले भाग पाएको छ।

प्रकाशित मिति: १९:३१ बजे, शनिबार, कात्तिक १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्