Kathmandu Press

कांग्रेसको संकल्पः लचिलो श्रम नीति र स्वच्छ ऊर्जा उपयोगमा अनुदान

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी संकल्पपत्रमा कांग्रेसले नेपालमा उच्च सम्भावना एवं आत्मनिर्भर हुँदै गरेका उद्योगको संरक्षणका लागि कर्जामा फरक व्याज तोक्ने, नवीन र गतिशील उद्योगलाई प्रवद्र्धन गर्ने जनाएको छ। 
कांग्रेसको संकल्पः लचिलो श्रम नीति र स्वच्छ ऊर्जा उपयोगमा अनुदान

काठमाडाैं, कात्तिक १२ : नेपाली कांग्रेसले उद्योगको व्यवसायिकीकरण र लगानी प्रवद्र्धन गर्न लचिलो श्रम नीति र स्वच्छ ऊर्जाको उपयोगमा अनुदान दिने नीति लिएको छ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी संकल्पपत्रमा कांग्रेसले नेपालमा उच्च सम्भावना एवं आत्मनिर्भर हुँदै गरेका उद्योगको संरक्षणका लागि कर्जामा फरक व्याज तोक्ने, नवीन र गतिशील उद्योगलाई प्रवद्र्धन गर्ने जनाएको छ। 

प्रत्यक्ष विदेशी लगानीको सहजीकरण गर्न कम्पनी दर्ता, लगानी स्वीकृति आदि स्वचालित प्रक्रियाबाट गर्ने, विश्वसनीय लगानीकर्ताले ‘फास्ट ट्रयाक’मा रकम भित्र्याउन सक्ने, विदेशी वित्तीय संस्थाबाट ऋण लिने, गैरआवासीय नेपालीले विदेशी मुद्रामा गरेको बचत र लगानीमा भएको नाफा फिर्ता लैजान पाउने व्यवस्था गरिने सङ्कल्पपत्रमा उल्लेख छ। 

उद्योग, निजी क्षेत्रको छाता सङ्गठन, तीनै तहका सरकार प्राविधिक शिक्षा एवं व्यावसायिक तालिम परिषद्को सामूहिक पहलमा ‘अप्रेनटिससीप’ कार्यक्रम र रोजगारी सिर्जनाका लागि बजारले मागेको युवाले रोजेको ‘तरुण सीप वृत्ति’ कार्यक्रम ल्याइने उल्लेख छ। 

आगामी पाँच वर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने तथा न्यूनतम् वार्षिक ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने कांग्रेसको सङ्कल्पपत्रमा उल्लेख छ।

नेपालमा हाल वार्षिक पाँच लाख जनशक्ति श्रम बजारमा प्रवेश गर्ने गर्छन्। श्रम बजारमा प्रवेश गर्ने जनशक्तिको तुलनामा रोजगारीको सङ्ख्या अत्यन्त न्यून छ। स्वदेशमा रोजगारी नहुँदा अधिकांश युवा वैदेशिक रोजगारीमा जान बाध्य छन्। 

कांग्रेसले व्यापक रोजगारीका सम्भावना बोकेका सूचना प्रविधि, उद्योग, पर्यटन, निर्माण र यातायात, वित्तीय क्षेत्र, खनिज, कला तथा मनोरञ्जन क्षेत्रमा वार्षिक दुई लाख ५० हजार रोजगारी सिर्जना गर्ने सङ्कल्प गरेको छ।

प्रकाशित मिति: १६:५० बजे, शनिबार, कात्तिक १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्