Kathmandu Press

हात्ती धपाउन साइरनसहितका ट्याक्टर परिचालन

भारतबाट दैनिक ५०–६० को सङ्ख्यामा नेपाल प्रवेश गर्ने हात्तीलाई धपाउन सीमानाकामा साँझ परेदेखि उज्यालो नभएसम्मका लागि साइरनसहितको ट्याक्टर परिचालन गरिएको हो।
हात्ती धपाउन साइरनसहितका ट्याक्टर परिचालन

झापा, कात्तिक १२ :  हात्तीबाट पाकेको धानबाली जोगाउन बाहुनडाँगीमा सात वटा साइरन जडित ट्याक्टर परिचालन गरिएको छ।

भारतबाट दैनिक ५०–६० को सङ्ख्यामा नेपाल प्रवेश गर्ने हात्तीलाई धपाउन सीमानाकामा साँझ परेदेखि उज्यालो नभएसम्मका लागि साइरनसहितको ट्याक्टर परिचालन गरिएको हो।

Hardik ivf

मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका सीमा क्षेत्रको आलडाँगी, भोर्लेनी, बाहुनडाँगी भन्सार नाका, मिलनचोक, पुरानो नकलबन्द जाने बाटो, राइसिङ पुल र माता चोकमा एक–एक वटाका दरले ट्याक्टर राखिएको वडाध्यक्ष अर्जुन कार्कीले बताए। 

विगत सात वर्षअघि प्रकृति संरक्षण कोषमार्फत गरिएको विद्युतीय तारबार भत्काएर हात्ती गाउँ पस्न थालेपछि गाउँवासी र अन्नबालीको सुरक्षाका लागि साइरन जडित ट्याक्टर परिचालन गरिएको अध्यक्ष कार्कीको भनाइ छ।

विद्युतीय तारबार मर्मतसम्भारको अभावमा काम नलाग्ने अवस्थामा पुगेको बताउँदै कार्की भन्छन्, 'हुल बाँधेर आएका हात्ती साइरन बज्न थालेपछि तितरवितर भएर भारततर्फ फर्किन्छन्। दिगो समाधान होइन, तत्कालको लागि बाली जोगाउने वैकल्पिक उपाय भएको छ।'

साइरन बजेपछि हात्ती आएको थाहा पाएर गाउँले पनि सचेत रहने गरेको उनको भनाइ छ। निर्वाचनमा क्षेत्र नम्बर १ का सबै राजनीतिक दलको एजेण्डा हात्ती समस्या समाधान गर्ने भनिएपनि जितेर गएपछि बेवास्ता गरेको स्थानीयवासीको भनाइ छ।

जिल्लाको भद्रपुर, कचनकवल, विर्तामोड, बुद्धशान्ति, दमकलगायतका क्षेत्रमा हात्तीको उत्तिकै त्रास रहेको छ। 

प्रकाशित मिति: १६:४६ बजे, शनिबार, कात्तिक १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्