आम्दानीको माध्यम बन्यो झिनिया
झिनिया बनाएर उद्यमीले अतिरिक्त आम्दानी गरेका हुन्। पाँच जनाको समूहमा झिनिया उत्पादन गर्दै आएकी बेनपा–८ शिक्षा मार्गकी गौरा पाइजाले दसैँ र तिहारको समयमा झिनियाको माग बढी हुने गरेको बताइन्।
म्याग्दी, कात्तिक १० : म्याग्दीको बेनीमा झिनिया बनाउने व्यवसाय फस्टाएकाले यहाँका उद्यमीले झिनियालाई आम्दानीको स्रोत बनाउन थालेका छन्।
झिनिया बनाएर उद्यमीले अतिरिक्त आम्दानी गरेका हुन्। पाँच जनाको समूहमा झिनिया उत्पादन गर्दै आएकी बेनपा–८ शिक्षा मार्गकी गौरा पाइजाले दसैँ र तिहारको समयमा झिनियाको माग बढी हुने गरेको बताइन्।
‘अन्य समय विवाह र छेवारमा झिनिया कोशेली लैजाने चलन छ। विदेशमा पनि लैजाने गर्छन्’, उनले भनिन्, 'हुमादेवी फगामी, बुद्धीमाया रोका, कुशल शेरपुञ्जा र तारादेवी शेरपुञ्जाले सामूहिक रुपमा झिनिया उत्पादन गर्छन्। घरायसी कामबाट बचेको समयमा झिनिया बनाउने गरेको कुशल शेरपुञ्जाले बताए।
‘झिनिया आम्दानीको स्रोत बनेको छ’, उनले भने, ‘खेर जाने समय सदुपयोग भएको छ। घरखर्च चलाउने पैसा पनि यसैबाट जुटेको छ।’ बेनीका साथै म्याग्दीको ग्रामिण क्षेत्र, पर्वत, पोखरा, काठमाडौँ र बागलुङमा झिनिया बिक्री हुने गरेको छ। पहिले पहिले घरायसी उपभोगका लागि मात्र झिनिया बनाउने चलन थियो। पछिल्लो समय बजारमा माग बढेपछि व्यावसायिकरुपमा झिनिया उत्पादन गर्न थालेको बेनपा–८ अस्पतालचोककी भुलकुमारी रोकाले बताइन्।
उनले हाल रु ७० हजारमा झिनिया बनाउने विद्युत्बाट चल्ने आधुनिक मेसिन खरिद गरेकी छन्। तिहारका लागि मात्र पाँच बोराभन्दा बढी चामलको रु एक लाख २५ हजार मूल्य बराबरको झिनिया बनाएर बेचेको रोकाले बताइन्।
चामललाई गिलो हुने गरी पकाएर मेसिनमा राखेर पेलेपछि निस्कने त्यान्द्रालाई गोलो आकारमा घाममा सुकाएपछि झिनिया तयार हुन्छ। एक दर्जन ९प्रति १२ गोटा० झिनियाँलाई आकारअनुसार रु १३० देखि २०० सम्ममा बिक्री हुन्छ।
बेनी नगरपालिका–७ मङ्गलाघाटका झिनिया उत्पादक हरिकुमार श्रेष्ठले झिनियाको माग धेरै भएको बताउनुभयो। बेनीमा झिनिया उत्पादन गरेर बिक्री गर्ने उद्यमीको सङ्ख्या पचास जनाभन्दा धेरै छ। घरमा बनाउन झञ्जट हुने, बिग्रने डर, धेरै समयसम्म भण्डारण गरेर राख्न सकिने, आवश्यकताअनुसार फ्राई गरेर उपभोग गर्न सकिने भएकाले झिनिया प्रयोग बढेको बेनपा–२ खबराकी देवी शर्माले बताइन्।
हेर्दा आकर्षक, खानलाई स्वादीलो, सजिलो तथा तयारी खाजाको रुपमा प्रयोग गर्न सकिने भएकाले चाडपर्वको समयमा झिनिया रोटीको खपत धेरै हुने गर्छ। चामलको पिठो पकाएर त्यसलाई मेसीनमा पेलेर निस्कने चाउचाउको जस्तो त्यान्द्रोलाई घाममा सुकाएपछि बन्ने झिनिया घ्यू, तेलमा फ्राई गरेर खान योग्य हुन्छ।












