तातोपानीमा कात्तिक स्नान मेला

सिन्धुपाल्चोक, कात्तिक ८ : सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थलमध्ये तातोपानी धारामा कात्तिक स्नान मेला सुरु भएको छ।
कात्तिक महिनाभर चल्ने मेलामा स्नान गर्न हजारौँ स्वदेशी तथा विदेशी भक्तजन पुग्ने तातोपानी धारा संरक्षण समितिले जनाएको छ । चौवालिस डिग्री सेन्टिग्रेड तापक्रमको पानी निरन्तर बगिरहने नेपाल र चीनको सिमानामा रहेको तातोपानी धारामा नुहाए छालासम्बन्धी रोग निको हुने जनविश्वास छ।
धारा व्यवस्थापन समितिले केही वर्षअघिदेखि भक्तजनलाई स्नान गर्न सजिलो गराउने उद्देश्यले महिला र पुरूषका लागि छुट्टाछुट्टै धाराको व्यवस्था गरेको छ । महिलाका लागि तीन र पुरूषका लागि चारवटा धाराको व्यवस्था गरिएको उक्त समितिका पदाधिकारी विष्णु श्रेष्ठले बताए।
विसं २०४८ मा तत्कालीन प्रमुख जिल्ला अधिकारी ध्रुवराज वाग्लेको कार्यकालमा तातोपानी धारा संरक्षण समिति बनाइएपछि धाराको मर्मतसम्भार तथा व्यवस्थापनको काम हुँदै आएको उनले जानकारी गराए।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










