Kathmandu Press

सिगाना–गाजादह–बरेङ सडक कालोपत्र हुने

सिगाना–गाजादह–बरेङ सडक कालोपत्र हुने

गलकोट, कात्तिक ८ : निर्वाचन क्षेत्र रणनीतिक सडकअन्तर्गत बागलुङ बजारबाट सिगानासम्मको सडक कालोपत्र गरिने भएको छ । बागलुङ क्षेत्र नं १ अन्तर्गत बागलुङ नगरपालिकाको बागलुङ बजार अदालत चौपारी हुँदै सिगाना, चापाखर्क, गाजाको दह र बरेङ  शान्तिपुर जोड्ने उक्त सडक कालोपत्रका लागि निर्माण व्यवसायी छनोट हुनाका साथै बोक्से खाल्टाबाट सडक चौडा पार्ने काम सुरु गरिएको छ ।

साढे दुई वर्षभित्र पूर्वाधार निर्माणसहित सडक कालोपत्र गर्ने गरी अहिले बोक्से खाल्टाबाट सडक चौडा पार्ने काम सुरु गरिएको हो । सडकको पूर्वाधार ग्याबिन, कल्र्भट, पर्खाल तथा नाली बनाउने गरी सडक चौडाको काम सुरु गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ। 

Hardik ivf

अहिले सडक चौडा पार्न र सडक मिलाउनका लागि निर्माण व्यवसायीले दूई ठूला उपकरण परिचालन गरिसकेको उक्त कार्यालयका सूचना अधिकारी इञ्जीनियर कृष्णबहादुर खड्काले बताए। तिहारपछि काममले अझै तीव्रता लिने कार्यालयको भनाइ छ ।

‘दसैँलगत्तैदेखि  काम सुरु भएकामा  अहिले सडक धमाधम चौडा पार्ने काम भइरहेको छ, दसैँअघिमात्रै निर्माण व्यवसायीले अन्तिम सर्वेक्षण गरेको थियो,’ उजले भने, ‘सडक साढे दुई वर्षमा कालोपत्र गरिसक्ने गरी पहिलो आर्थिक वर्षमै चौडा पार्ने काम सम्पन्न गरिनेछ भने आगमी वर्ष कालोपत्रको काम थालिने छ।’

बागलुङ बजार हुँदै सिगाना, बरेङ शान्तिपुर पुग्ने सडक ठेक्का सम्झौता भएको साढे दुई वर्षमा १० किलोमिटर सडक कालोपत्र भइसक्ने उक्त कार्यालयले जनाएको छ। 

सडक ३२ किलोमिटर लामो भए पनि अहिले पहिलो चरणमा सुरुबाट १० किलोमिटर सडक कालोपत्र गरिने भएको छ । लामो समय बजेट अभावले कालोपत्रका लागि ठेक्कामा जान नसकेको सडक विभिन्न पदाधिकारीको पहलका कारण अहिले कालोपत्रका लागि काम थालिएको हो। 

ठेक्काअन्तर्गत बागलुङ बजारबाट बोक्सेसम्मको सडक कालोपत्र भइसकेकाले बोक्सेबाट बौडैचौरको आलडाँडासम्म कालोपत्र गर्न लागिएको छ। निर्वाचन क्षेत्र–१ को रणनीतिक सडक सोही क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसदहरूको सिफरिसमा छनोट भएको थियो। सडक कालोपत्र नहुँदा सिगाना हुँदै बरेङ शान्तिपुर जाने सडकमा यात्रुले सास्ती खेप्दै आएका छन्।  

प्रकाशित मिति: १४:१६ बजे, मंगलबार, कात्तिक ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्