सुडानका पूर्व राष्ट्रपतिलाई दुई बर्ष नजरबन्द
एजेन्सी, मंसिर २९ : सुडानको अदालतले आन्दोलनको आडमा सेनाद्वारा पदच्युत गराइएका पूर्व राष्ट्रपति ओमार हसन अहमद अल–बसिरलाई दुई बर्ष नजरबन्दमा राख्न....

एजेन्सी, मंसिर २९ : सुडानको अदालतले आन्दोलनको आडमा सेनाद्वारा पदच्युत गराइएका पूर्व राष्ट्रपति ओमार हसन अहमद अल–बसिरलाई दुई बर्ष नजरबन्दमा राख्ने आदेश गरेको छ ।
उनलाई सामाजिक सेवा सुविधासहितको सुधारगृहमा नजरबन्दमा राख्न सजाय अदालतले सुनाएको हो । “आफ्नो कार्यकालमा पदको दुरूपयोग गरी अकुत विदेशी मुद्रा आर्जन गरेको र भ्रष्टाचारलाई प्रोत्साहन गरेको आरोपमा अदालतले पूर्व राष्ट्रपति अल–बसिरलाई दोषी ठहर गरेको छ,” न्यायाधीश अल–सादिक अब्देल रहमानले अदालतको निर्णय सुनाउँदै भने । “अदालतले उनलाई दुई बर्ष सामुदायिक सुधार केन्द्रमा पठाउने सजाय गरेको छ ।”
उनले थपे, “सुडानको कानून अनुसार कुनै पनि ७० बर्ष काटेको नागरिकलाई जेल सजाय गर्न मिल्दैन । त्यसैले उनलाई सामाजिक सुधार गृहमा नजरबन्दमा राख्नसक्ने निर्णय सुनाएको छ ।” पचहत्तर बर्षीय बसिरले उहाँमाथि लागेको अर्को मुद्दा, जुन अदालतमा विचाराधीन अवस्थामा छ, माथि सुनुवाईपछि हुने फैसलापछि नजरबन्दको सजाय सुरू हुनेछ ।
भ्रष्टाचारविरोधी आन्दोलनमा सहभागी भएका प्रदर्शनकारीलाई गोली हान्ने आदेश दिई निर्दोष नागरिकको हत्यामा सम्लग्नता रहेको भन्दै बसिरमाथि दोस्रो मुद्दा पनि लागेको छ । गत अप्रिलमा बसिरलाई आन्दोलनको बलमा पदच्युत गरिएको थियो ।












