थाइ मसाजले युनेस्को सम्पदा सूचीमा स्थान पाउन सक्ने
बैङ्कको रिक्लाइनिङ बुद्ध मन्दिरका क्राइराथ चन्त्रास्रीले आफूसँग थाइ मसाजको दुई हजार वर्ष पुरानो सीप भएको बताएका छन्। शरीर दोबार्ने र कुहिनाले गरिने थाइ मसाज यो साता यु....
बैङ्कको रिक्लाइनिङ बुद्ध मन्दिरका क्राइराथ चन्त्रास्रीले आफूसँग थाइ मसाजको दुई हजार वर्ष पुरानो सीप भएको बताएका छन्। शरीर दोबार्ने र कुहिनाले गरिने थाइ मसाज यो साता युनेस्कोको सम्पादा सूचीमा पर्ने सम्भावना छ।
बैङ्कका महँगा स्पा र फुकेटका समुद्र किनारदेखि सडक छेउछाउका सुलभ पसलहरूमा “नुआड थाइ” वा थाइ मसाज थाइल्यान्डमा निकै लोकप्रिय छ। एक घण्टासम्म ढाड सोझ्याएको शुल्क वापत थोरैमा ५ अमेरिकी डलर पर्दछ।
यो साता कोलम्बियाको राजधानी बोगोटामा युनेस्कोको बैठकमा पारित भए “इन्ट्यान्जिबल कल्चरल हेरिटेज” सूचीमा थाइ मसाज पर्नेछ।
क्राइराथ रिक्लाइनिङ बुद्ध स्कूलमा सिकाउँछन्। त्यहाँको वात फो मन्दिर निकै लोकप्रिय छ। प्रत्येक वर्ष हजारौंको संख्यामा थाइल्यान्ड र विदेशी विद्यार्थी त्यहाँ आउने गर्छन्। क्राइराथका पिता पनि मसाज गर्थे। यो प्राचिन कला अरूसँग बाँड्न पाउँदा उनी गर्वको अनुभूति गर्छन्।
“हाम्रो सामूहिक ज्ञानको म निरन्तरता हुँ,” ४० वर्षीय क्राइराथ भन्छन्।
वात फो परिसरमा प्रशिक्षार्थीहरूले शरीरको एक्युपंक्चर बिन्दु लक्षित गर्दै विभिन्न चालहरू सिक्छन्। उनीहरूले बुढी औंला, कुहिना, घुँडा र खुट्टाको सहयोगबाट शरिर तन्काउने गर्छन्। यो विधि भारतमा उत्पत्ति भएको मानिन्छ। करिब २५ सय वर्षअघि चिकित्सक र भिक्षुहरूले थाइल्यान्ड भित्र्याएको अनुमान छ। गुरूबाट चेला हुँदै पछि परिवारमा पनि यो विधिको रहस्य हस्तान्तरण हुँदै आएको छ।
१९औं शताब्दीमा थाइल्यान्डका राजा रामको राज्यमा विद्वानहरूले यसको ज्ञानलाई वात फोका ढुंगाहरूमा कुँदे। तर सन् १९६२ मा विद्यालय खुलेपछि मात्रै यसको अभ्यासले तीव्रता पायो। यहाँबाट दुई लाखभन्दा धेरै मसाज थेरापिस्टले तालिम लिएका छन्। उनीहरू अहिले एक सय ४५ भन्दा धेरै देशहरूमा अभ्यासरत छन्।
मसाज क्षेत्रमा दशौं हजार थाइल्यान्डवासी रोजगार छन्। अर्थतन्त्र खस्किएको बेला थाइल्यान्डवासीको रूचि बढ्ने विद्यालयका निर्देशक प्रिडा ताङत्रोङचित्रले बताए।
“ऋणमा डुबेका वा अपांगता भएका धेरैका लागि यो एउटा अवसर हो किनभने यसमा कुनै साधनको आवश्यकता हुँदैन। मात्रै उनीहरूको हात र ज्ञान भए पुग्छ,” उनले भने।
थाइल्यान्डबाहिरका महँगा स्पाका थेरापिस्टले प्रतिघण्टा सय अमेरिकी डलरसम्म शुल्क लिने गर्छन्। थाइ मसाजको बजार बढिरहेको लन्डन, न्यूयोर्क र हङकङजस्ता शहरमा झन् दुई वा तीन गुणा बढी शुल्क लिएर सेवा दिइन्छ।
थाइ मसाजको सीप सिक्नलाई चिलेबाट बैङ्कक आएका ३४ वर्षीया सारीले तालिम “जटिल” भएको बताइन्। उनी व्यावसायिक रूपमा मसाज सेवा दिने अर्थात् “मस्युस” हुन्। “यो विधि एकदमै सटिक हुन्छ। ध्यान दिनुपर्ने कुरा धेरै हुन्छ,” उनले बताइन्। त्यसो बताइरहँदा उनले एक सहपाठीको टाउकोमा हत्केला घुमाइरहेकी थिइन्।
मांशपेसी दुखेको ठाउँमा रगतको प्रवाह निर्देशित गर्ने विधिबारे सिक्नुपर्छ। त्यसो गर्दा हुने दुखाइका कारण कहिलेकाहिँ सेवाग्राहीको गाली पनि सुन्नुपर्छ। मसाजले ढाडको दुखाइ, टाउको दुखेको, अनिद्रा र चिन्ताबाट पनि राहत दिनसक्ने अध्ययनहरूले देखाएका छन्।
फ्रान्सका नर्स म्याथ्यु रोसेफोललाई थाइ मसाजले वृद्ध बिरामीलाई दुखाइबाट राहत दिन सहयोग गर्नसक्छ। “अलिकति पैसा पनि कमाउन सक्छु,” उनले भने।