Kathmandu Press

मनाइयो कुकुर तिहार, आज साँझ दीपावली

कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरुपमा बाटो छाडिदिने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए। 
मनाइयो कुकुर तिहार, आज साँझ दीपावली
Hardik ivf

काठमाडाैं, कात्तिक ७ : यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ।
   
कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरुपमा बाटो छाडिदिने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए। 
   
वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमा समेत स्थापित भएको छ। तिथिको घटबढका कारण धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्ने पर्व पनि आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। आज साँझ दीपावली गरी लक्ष्मी पूजाको तयारी भइरहेको छ।
   
नेपालीको दोस्रो ठूलो चाड तिहार यस वर्ष शनिबारदेखि सुरु भएको हो। यमपञ्चकको पहिलो दिन शनिबार नयाँ भाँडा किनी घरमा ल्याई राखेर धनतेरस पर्व मनाइएको थियो। त्यसै साँझदेखि यम दीपदान पनि सुरु भएको छ। दोस्रो दिन आइतबार सन्देशवाहकका रुपमा कागको पूजासहित मीठा खानेकुरा खान दिई मनाइएको छ। आयुर्वेदका प्रवर्तक धनवन्तरी जयन्ती पनि यसै दिन मनाइएको थियो।
 
कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिन देशभर तिहार अर्थात् यमपञ्चक पर्व मनाइन्छ। चौथो दिन मङ्गलबार गाई पूजा गरिँदै छ। यस दिन ग्रस्तास्त खण्डग्रास सूर्य ग्रहण पनि परेको समितिले जनाएको छ।

पाँचौँ दिन गोवद्र्धन पूजा, हलितिहार, बलीपूजा, गोरुपूजा पर्व परेको छ। तिथिले पाँचौँ परे पनि दिन अनुसार छैटौँ कात्तिक १० गते बिहीबार दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि तिहार पर्व समापन हुन्छ। भाइटीकाको साइत ११ः३७ बजे उत्तम रहेको अध्यक्ष अधिकारीले जानकारी दिए।

प्रकाशित मिति: १४:४५ बजे, सोमबार, कात्तिक ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्