गठबन्धन सरकार स्थिरतासँगै विकास र समृद्धिको बाटोमा अगाडि बढ्छ : मन्त्री कार्की

इनरूवा, कात्तिक ६ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन सरकार स्थिरतासँगै विकास र समृद्धिको बाटोमा अगाडि बढ्ने बताएका छन।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक–वाम गठबन्धन एउटा विशिष्ट उद्देश्य पूरा गर्नका लागि निर्माण भएको बताए। त्यो उद्देश्य पूरा नहुञ्जेलसम्म गठबन्धन कायम रहने उनको भनाइ थियो।
मुलुक अधिनायकवादतर्फ उन्मुख हुने सम्भावना बढेकाले त्यसलाई रोक्न, नेपाली जनताको भावनाअनुरूप जारी भएको संविधान, लोकतन्त्र र संविधानले व्यवस्था तथा परिकल्पना गरेको व्यवस्थालाई संरक्षण गर्न गठबन्धन बनेको उनले बताए।
नेपाली कांग्रेसबाट प्रतिनिधिसभाबाट सुनसरी क्षेत्र नम्बर ४ का उम्मेदवारसमेत रहनुभएका मन्त्री कार्कीले विगतका निर्वाचनमा आफूले जनतासामु गरेको अधिकांश प्रतिबद्धता पूरा गरेको बताए। यस क्षेत्रमा मोबाइल नेटवर्कको समस्या रहेको जनगुनासो आएकाले टावर निर्माणका लागि टेण्डर आह्वान भइसकेकाले त्यो समस्या छिट्टै समाधान भएर जाने उनले बताए।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर सयौँ नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।












