कमल गाउँपालिकाका किसानलाई मल अभाव

झापा, कात्तिक ६ : कमल गाउँपालिका– ४ की तनुजा कार्की आलु रोप्न मलको अभाव नभए पनि ढुक्क छिन् । उनले विगतदेखि नै एक बिघा जमिनमा व्यावसायिकरुपले आलु खेती गर्दै आएकी छन्। मल अभावमा विगतमा पनि समयमै आलु रोप्न नपाउनुभएकी उहाँले यस वर्ष भने बेलैमा आलु रोप्न सुरु गरेका हुन्।
तनुजा आफैले र गाउँपालिकाले उत्पादन गरेको जैविक तथा प्राङ्गरिक मलका कारण पनि दसैँं अघि नै धान काटेर खेतमा आलुको खेती लगाउन सजिलो भएको हो । ‘रासायिक मल नपाउँदा कुनै बाली समयमै लगाउन पाइदैँन थियो,’ उनले भनिन्, ‘अहिले आफैंँ पनि मल बनाउँछौँं अपुगमा पालिकाले निःशुल्क दिन्छ समयमै जुनसुकै बाली लगाउन पनि सजिलो भएको छ।’
किसानले बाली लगाउने याममा रासायनिक मल अभाव हुन थालेपछि उक्त गाउँपालिकाले विकल्पको रुपमा प्राङ्गरिक तथा जैविक मल उत्पादन गर्दै आएको हो । विगत तीन वर्षदेखि उक्त पालिकाले आफ्नै लगानीमा जैविक तथा प्राङ्गरिक र युरिया मल उत्पादन गर्दै आएको छ।
पालिकाले प्राविधिक र स्थानीय स्रोत तथा साधनमार्फत उत्पादन गरेको मल अगुवा तथा व्यावसायिक किसानलाई निःशुल्क वितरण गर्दै आएको पालिकका कृषि शाखा प्रमुख महेन्द्र बोहोराले जानकारी दिए। रासायनिक मल सधैँ हाहाकार हुने र यसले माटो एवं पर्यावरणमा समेत नोक्सानी गर्ने भएकाले स्थानीय स्रोत साधन प्रयोग गरी जैविक मल उत्पादन गरिएको उनले बताए। ‘रासायनिक मलको चरम अभाव छ,’ उनले भने, ‘आवश्यक परेको बेला सहजै पाउने र किसानका लागि भरपर्दो पनि भएकाले अब जैविक तथा प्राङ्गरिक मल नै प्रयोग गर्ने हो।’ गाउँपालिकाले उत्पादन गरेको प्राङ्गारिक, युरिया र झोल मल तहरास्थित क्षेत्रीय निर्देशनालयले समेत परीक्षण गरी उत्कृष्ट र उपयोगी ठहर गरेको शाखा प्रमुख बोहोराको भनाइ छ।
पालिकाले आफूले मात्र जैविक तथा प्राङ्गरिक मल उत्पादन नगरेर सहकारी, अगुवा किसान र कृषि फार्मलाई समेत तालिम प्रदान गर्दै आएको छ । पालिकाले दिएको तालिमबाट अधिकांश किसानले आफैँं पनि मल बनाउन थालेको कमल गाउँपालिका–३ का अगुवा किसान कमल राजवंशीले बताए ।
‘अहिले मल पाएनौँ भनेर कसैसँग गुनासो गर्नुपर्दैन,’ उनले भने, ‘आफ्ना खेतीका लागि चाहिने मल आफैं बनाइन्छ।’ पालिकाले रासायनिक मलको विकल्पको रुपमा सुरु गरेको जैविक तथा प्राङ्गरिक मल उत्पादनमा प्रदेश सरकारले समेत सहयोग गर्ने भएको छ।












