नेपाल एयरलाइन्सकाे समेत आयोजनामा मुम्बई र बैंगलोरमा पर्यटन प्रवर्धन कार्यक्रम

काठमाडौं, कात्तिक ५ : नेपालले छिमेकी मुलुक भारतको मुम्बई र बैंगलोरमा सेल्स मिट र पर्यटन प्रवर्धन कार्यक्रम आयोजना गरेकोे छ।
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र जनरल सेल्स एजेन्ट (जिएसए) को संयुक्त आयोजनामा ती दुई सहरमा सेल्स मिट र अन्तरक्रिया सम्पन्न गरिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।
गत असोज २६ र ३१ गते मुम्बई र बैंलोर सहरमा हवाई सेवा तथा पर्यटन सम्बद्ध प्रतिनिधिसँग निगमले छुट्टाछुट्टै कार्यक्रम गरेको यियो।
निगमको व्यापार तथा बिक्री प्रवर्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा निगमका उच्च अधिकारी, पूर्वमहान्यायाधिवक्ता सुशील पन्त, संगीतकार रन्जीत गजमेरसहितको सहभागितामा सम्बद्ध क्षेत्रका नेपाली प्रतिनिधि, एक सय २० भन्दाबढी ट्राभल एजेण्ट, कार्गो एजेण्ट र जिएसएको सहभागितामा सेल्स रणनीतिसँग सम्बन्धित विभिन्न विषयमा छलफल तथा विमर्श भएको थियो।
त्यस्तै निगमबाट प्रदान हुँदै आएको विभिन्न सेवा तथा सुविधाका बारेमा निगमको वाणिज्य विभागबाट प्रस्तुतीकरण गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। नेपाली समुदायका तर्फबाट भरत रावल, विष्णु रावल, देवेन्द्र विक्रम साहको उपस्थिति थियो। निगमको व्यावसायिक प्रवर्धनका लागि समय समयमा यस्ता किसिमका अन्तर्क्रियायात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
निगमले स्थापनाकालदेखि नै भारतका विभिन्न गन्तव्यमा उडान भर्दै आएकामा हाल मुम्बई, दिल्ली र बैंलोरमा नियमितरुपमा उडान सञ्चालन हुँदै आएको छ।
पछिल्ला दिनमा नियमित उडान र उडान अकुपेन्सी पनि बढिरहेकाले निगमको आम्दानीमा सुधार आएको त्यहाँका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताए। उनले आगामी दिनमा चीनको ग्वाङजाओ भारतको अहमदावाद र सिंगापुर हुँदै अष्ट्रेलियाका लागि उडान भर्ने लक्ष्य रहेको बताए।
नेपालको पर्यटन क्षेत्रको विकास तथा प्रवर्धनका लागि सरकारले सन् २०२३–२०३३ को अवधिलाई पर्यटन दशकका रुपमा मनाउने घोषणा गरिसकेको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसमेत सञ्चालन हुने चरणमा रहेको छ।
यसबाट नेपालमा हवाई सेवा र पर्यटन प्रवर्धन गर्न निगमको अग्रणी भूमिका रहने भएकाले हवाई सेवालाई समयसापेक्ष र थप प्रभावकारी बनाउँदै लैजाने निगमले जनाएको छ।
नेपाल र भारतबीच भौगोलिक निकटता मात्र नभएर जनस्तरमासमेत सामाजिक–सांस्कृतिक सम्बन्ध भएको हुनाले विश्वसम्पदामा सूचीकृत विभिन्न धार्मिक तथा प्राकृतिक सम्पदा र प्रमुख कला संस्कृति पर्यटकीय आकर्षणको क्षेत्रबाट भरपुर लाभ लिन सकिने निगमको विश्वास छ।
उदीयमान अर्थतन्त्रका रुपमा विकास हुँदै गरेको भारतका विभिन्न सहरलाई नेपालको पर्यटकीय गन्तव्यहरुसँग निगमले सहजरुपमा जोड्दै आएको छ।











