निःशुल्क जग्गा दिने १८ जग्गादातालाई सम्मान
गाउँपालिकाले दसैँ, तिहार, छठ तथा किरात समुदायको साकेला उँधौली चाडका अवसर पारेर शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा जग्गादातालाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको हो।
खाेटाङ, कात्तिक ५ : साकेला गाउँपालिकाले गाउँपालिकाको प्रशासनिक भवन निर्माण तथा गाउँपालिकाभित्र सञ्चालित विभिन्न कार्यालय भवन निर्माण गर्न निःशुल्क जग्गा प्रदान गर्ने १८ जग्गादातालाई सम्मान गरेको छ।
गाउँपालिकाले दसैँ, तिहार, छठ तथा किरात समुदायको साकेला उँधौली चाडका अवसर पारेर शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा जग्गादातालाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको हो।
मानेभञ्ज्याङस्थित गाउँपालिकाको प्रशासकीय भवन निर्माणार्थ १० रोपनी जग्गा निःशुल्क प्रदान गर्नुहुने साकेला–२ का काजीबहादुर खत्री, तीन रोपनी दिनुभएका राजकुमार सुवेदी, पाँच रोपनी दिने भीमबहादुर सुवेदी, छ रोपनी दिने बलराम राई र एक रोपनी दिने विष्णुकुमारी कटवाललाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको सामाजिक सुरक्षा शाखाप्रमुख डिएम चाम्लिङ राईले जानकारी दिए।
चण्डेश्वरी आधारभूत विद्यालय बाँझेच्यानडाँडालाई एक रोपनी दिने पदमबहादुर कामी, साकेला स्वास्थ्यचौकी रतन्छालाई सात रोपनी दिने मानबहादुर राई, वडा कार्यालय रतन्छालाई दुई रोपनी पाँच आना दिने रुपेश राईलाई सम्मान गरिएको छ।
साकेला आधारभूत अस्पताल निर्माणार्थ चार रोपनी आठ आना दिने तुलराम राई, तीन रोपनी छ आना दिने रामकुमार राई र एक रोपनी दुई आना जग्गा दिने सञ्जय राईलाई पनि सम्मान गरिएको छ। वडा नं ४ को कार्यालय भवन निर्माण गर्न तीन रोपनी जग्गा दिने देउकुमार श्रेष्ठ तथा एक÷एक रोपनी दिने प्रेमकुमार श्रेष्ठ, पदमबहादुर श्रेष्ठ र इन्द्रबहादुर श्रेष्ठलाई सम्मान गरिएको छ ।
आधारभूत स्वास्थ्य इकाइको भवन निर्माण गर्न तीन रोपनी आठ आना र धनबरे खेलमैदान साकेला–४ लाई चार रोपनी जग्गा निःशुल्क प्रदान गर्नुहुने विष्णुमाया श्रेष्ठलाई सम्मान गरिएको छ ।
आधारभूत स्वास्थ्य इकाइ साकेला–४ को भवन निर्माण गर्न एक रोपनी दिने हीरामाया श्रेष्ठ र आठ आना जग्गा निःशुल्क प्रदान गर्नुहुने पूर्णकुमारी श्रेष्ठलाई सम्मान गरिएको छ ।












