१० दिनपछि सञ्चालन भयो अवरुद्ध शृंगपथ सडकखण्ड
अविरल वर्षाका कारण गत असोज २६ गते सडक भासिँदा सवारी साधनको आवागमन अवरुद्ध भएपछि नयाँ ट्रयाक खोलेर आजदेखि सवारी पुनः सञ्चालनमा ल्याइएको हो।
तनहुँ, कात्तिक ४ : तनहुँको दक्षिण भेगमा पर्ने शृंगपथ मोटरमार्गअन्तर्गत देउराली–सुनाकोट सडकखण्डमा सडक भासिएर अवरुद्ध बनेको सडक दस दिनपछि पुनः सञ्चालनमा ल्याइएको छ।
अविरल वर्षाका कारण गत असोज २६ गते सडक भासिँदा सवारी साधनको आवागमन अवरुद्ध भएपछि नयाँ ट्रयाक खोलेर आजदेखि सवारी पुनः सञ्चालनमा ल्याइएको हो। अविरल वर्षाले जिल्लाको घिरिङ गाउँपालिका–५ देउराली नजिकको सडकमा पहिरो जाँदा तनहुँको ऋषिङ, घिरिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा र नवलपरासी जिल्लामा गुड्ने सवारी साधन रोकिएका थिए।
सडक अवरुद्ध भएपछि यताको गाडी यतै र उताको गाडी उतै रोकिएकाले केही दूरी हिँडेर यात्रुले पुनः बस चढेर यात्रा गर्न बाध्य भएको घिरिङ गाउँपालिकाका प्रेस सल्लाहकार अन्जान परियारले जानकारी दिए। दैनिक माथिबाट सडकमो पहिरो खसेकाले दुईदेखि तीन वटासम्म डोजर प्रयोग गरी माथिपट्टि पहरा कटान गरेर नयाँ सडकमार्ग बनाइएको हो।
गण्डकी प्रदेशले रु २५ लाख बजेट उपलब्ध गराएकाले जिल्लास्थित पूर्वाधार कार्यालयले सडक निर्माणको काम गरेको उहाँले बताउनुभयो। दसैँको समयमा गाडी नचलेपछि लामो दूरीको बाटो पैदल हिँडेर आफन्त, इष्टमित्र र मान्यजनको हातको टीका थाप्न जान सर्वसाधारणले कठिनाइ भोग्नुपरेको थियो।
सडक बनेपछि साना तथा ठूला गाडी पनि निर्वाधरुपमा गुड्न थालेको भिमाद नगरपालिकाका नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिए। दसैँको समयमा अविरल वर्षा भएका कारण पनि तत्काल काम गर्न नसकिएकाले केही समय ढिलाइ हुन गएको उनले बताए।
चाडपर्वको समयमा यात्रुको समस्यालाई मध्यनजर गरी तत्कालका लागि यताको गाडी यतै र उताको गाडी उतै रहने व्यवस्था मिलाइ यात्रुलाई गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाइएको घिरिङ गाउँपालिकाका अध्यक्ष हेमबहादुर थापाले जानकारी दिए।












