Kathmandu Press

एक खर्ब ८७ अर्ब बराबरको रेमिटेन्स भित्रियो

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आवको दोस्रो महिनासम्मको विवरणअनुसार विप्रेषण आप्रवाह १९ दशमलव आठ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह पाँच दशमवल आठ प्रतिशतले घटेको थियो।
एक खर्ब ८७ अर्ब बराबरको रेमिटेन्स भित्रियो

काठमाडाैं, कात्तिक ४ : चालु आर्थिक वर्षको दोस्रो महिना अर्थात् भदौको अन्त्यसम्म रु. एक खर्ब ८७ अर्ब चार करोड बराबरको विप्रेषण (रेमिटेन्स) भित्रिएको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आवको दोस्रो महिनासम्मको विवरणअनुसार विप्रेषण आप्रवाह १९ दशमलव आठ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह पाँच दशमवल आठ प्रतिशतले घटेको थियो।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११ दशमलव तीन प्रतिशतले वृद्धि भई रु एक अर्ब ४७ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह पाँच दशमलव तीन प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक सय ७० प्रतिशतले वृद्धि भई एक लाख तीन हजार आठ सय ९८ पुगेको छ।

त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ७० दशमलव छ प्रतिशतले वृद्धि भई ३९ हजार एक ८९ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या चार सय २९ दशमलव पाँच प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा खुद ट्रान्सफर १९ दशमलव पाँच प्रतिशतले वृद्धि भई रु दुई खर्ब छ अर्ब ४६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर छ प्रतिशतले घटेको थियो।

प्रकाशित मिति: १४:५२ बजे, शुक्रबार, कात्तिक ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्