Kathmandu Press

बस्तीका शतप्रतिशत मुसहर समुदायका बालबालिका विद्यालय भर्ना

हरुवाचरुवा परिवारका युवा र महिला सङ्गठित भएर अभियान चलाएपछि सन्तोष र अशोक मात्र होइन्, शिक्षाको उज्यालो घामबाट वञ्चित सो बस्तीका ३० बालबालिका एकै पटक स्कुल भर्ना भएर पढ्न थालेका छन्।
बस्तीका शतप्रतिशत मुसहर समुदायका बालबालिका विद्यालय भर्ना

जनकपुरधाम, कात्तिक ३ :  घरदेखि करिब दुई सय मिटरको दूरीमा स्कुल भए पनि सप्तरीको डाक्नेश्वरी नगरपालिका–५ पातोका १० वर्षीय किसनकुमार सदा विद्यालय जाँदैनथे। पढ्ने रहर भएर पनि सामाजिक रुपमा गरिँदै आएको अपमानजनक व्यवहार र चेतनाको आभावमा विद्यालय नगएर घरको काममा आफ्ना बुबाआमालाई सघाउँदै आएका थिए तर स्थानीयवासी युवा र महिलाको लामो प्रयास पश्चात अहिले विगत एक वर्षदेखि उनी नियमित स्कुल जान थालेका छन्। 

१२ वर्षको उमेरसम्म विद्यालयको मुखसम्म हेर्न नपाएका स्थानीयवासी ब्रह्मकुमार सदा पनि अहिले एक वर्षदेखि विद्यालय जाँदैछन्। स्थानीय जनता मावि तरहीको कक्षा ३ मा पढ्दै आएका सन्तोष र अशोकले अगुवा युवा तथा  महिलाको सक्रियतामा आफूहरुले विद्यालयसम्म पुगेको बताएका छन्। हरुवाचरुवा परिवारका युवा र महिला सङ्गठित भएर अभियान चलाएपछि सन्तोष र अशोक मात्र होइन्, शिक्षाको उज्यालो घामबाट वञ्चित सो बस्तीका ३० बालबालिका एकै पटक स्कुल भर्ना भएर पढ्न थालेका छन्। 

Hardik ivf

'मुसहर बस्तीका हामी सबै प्रत्येक महिनामा एक पटक बैठक बस्छौंँ', स्थानीय युवा तथा समाजिक अभियानकर्मी नरेश सदाले भने, 'त्यही बैठकबाट सबै अभिभावकलाई विद्यालय जाने उमेरका आफ्ना बच्चालाई अनिवार्य विद्यालय पठाउनुपर्ने निर्णय गर्छौ।' दलित समुदायमा पनि सबैभन्दा पछाडि परेको मुसहर समुदायका बालबालिका स्कुलसम्म पुगेपछि पूरै बस्ती नै पूर्ण साक्षर हुने बाटोमा अघि बढेको स्थानीयवासीले बताएका छन्। 

सामाजिक, आर्थिक र शैक्षिकलगायत सबै क्षेत्रमा पछाडि परेको हरुवाचरुवा मुसहर समुदायका बालबालिकालाई विद्यालयसम्म ल्याउन धेरै मेहनत गर्नुपरेको सामाजिक क्षेत्रमा क्रियाशील श्रीपुर्राज सामुदायिक विकास केन्द्रका टिम लिडर विनोदानन्द चौधरी बताउनुहुन्छ। 'सुरु सुरुमा चेतनाको आभावमा मुसहर समुदायका अभिभावक बच्चालाई विद्यालय पठाउनै नमान्दैनथे', टिम लिडर चौधरीले भने, 'तर नियमित रुपमा हामीले स्थानीयस्तरमा हरुवाचरुवा नगर सञ्जाल बनाएर सङ्गठित रुपमै दबाब दिएपछि बल्ल अभिभावक आफ्ना छोराछोरीलाई विद्यालय पठाउन मञ्जुर हुनुभएको हो।' 

मुसहर बस्तीका विद्यार्थी स्कुल जान थालेपछि अभिभावकसमेत उत्साहित बनेको उनको भनाइ छ। करिब दुई सय घरपरिवार रहेको मुसहर समुदायबाट पहिला मुस्किलले दुई/तीन बालबालिका मात्र विद्यालय आउने गरेकामा पछिल्लोे वर्षदेखि सो बस्तीका शतप्रतिशत बालबालिका विद्यालयमा भर्ना भएको जनता माविका शिक्षक पुलकित मुखियाले बताए। 

द फ्रिड्म फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रद्वारा सञ्चालित हरुवाचरवा सशक्तिकरण अभियानअन्तर्गत गठित बाबा डिहबार हरुवाचरवा परिवारमा आवद्ध भएर स्थानीयवासी सामाजिकसँगै आयआर्जनको बाटोमा समेत अघि बढेका छन्। 

छुवाछुत र भेद्भावलाई छाडेर सो गाउँका हरुवाचरुवा मुसहर परिवारका सदस्य अहिले बस्तीको विकास र आयआर्जनको काममा समेत नेतृत्व लिँदै आएका छन्। 'छुवाछुत भनेको अन्धविश्वास हो, यसले मानव समाजलाई नै अघि बढ्न दिँदैन् स्थानीय युवा राजेश चौधरीले भने, 'समाजमा उच निचको कुरा गर्नुहुदैन् भन्ने हामीमा ज्ञानको विकास भयो।'

समूहमा महिला र पुरुष सबैलाई सहभागी गराएर एकापसमा आयआर्जन र सरसफाइको कुरा चलाएपछि स्थानीयमा सरसफाइ र आफ्ना बालबालिकालाई विद्यालय पठाउनुपर्छ भने सोचको विकास भएको हरुवाचरुवा नगर सञ्जालका अध्यक्ष मधु सदाले बताए। 

प्रकाशित मिति: १३:५८ बजे, बिहीबार, कात्तिक ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्