Kathmandu Press

इच्छाकामना मन्दिर पुनःनिर्माणको अन्तिम चरणमा

चितवनको इच्छाकामना गाउँपालिका–५ मा रहेको इच्छाकामना मन्दिर पुनः निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
इच्छाकामना मन्दिर पुनःनिर्माणको अन्तिम चरणमा

भरतपुर, कात्तिक ३ : चितवनको इच्छाकामना गाउँपालिका–५ मा रहेको इच्छाकामना मन्दिर पुनः निर्माणको काम अन्तिम चरणमा पुगेको छ।  

ढुङ्गा र माटोले बनेको पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर पुनःनिर्माण शुरु गरिएको हो। २०७५ असार ७ गते शिलान्यास गरेर काम शुरु भएको मन्दिरको छाना छाउन बाँकी रहेको इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले बताए। तामाको छाना बनाउनका लागि भक्तपुरमा रहेका कालीगडलाई जिम्मा दिइएको छ।

Hardik ivf

यसबाहेक मन्दिरमा रङरोगन, ढुङ्गा बिच्छाउने  र पर्खाल लगाउने काम बाँकी छ। बजेट अभावका कारण बाँकी काम निर्माण सम्पन्न गर्न नसकिएको उनले बताए।

गाँउपालिका र प्रदेश सरकारको झण्डै दुई करोडको लागतमा मन्दिर निर्माणमा खर्च भइसकेको छ। चार÷पाँच लाख चन्दादाताबाट पनि सङ्कलन गरिएको उनले बताए।

मन्दिर निर्माणका लागि स्थानीयले श्रमदानसमेत गरेका छन्। यस वर्ष प्रदेश सरकारले १० लाख विनियोजन गरेको छ भने गाउँपालिकाले पनि बजेट विनियोजनको आश्वासन दिएको उनले बताए।

पृथ्वी राजमार्गअन्तर्गत फिस्लिङबाट १८ किलोमिटर कच्ची सडक र ६ सय मिटर हिँडेपछि इच्छाकामना मन्दिर पुग्न सकिन्छ। मन्दिर निर्माण समितिका उपाध्यक्ष यानबहादुर गुरुङले बर्खाको समयमा गाडी नचल्ने र बोकेर सामान लैजानुपर्दा ढुवानी महँगो पर्ने गरेको बताए। उनले बजेटको सुनिश्चितता भए यस वर्ष मन्दिर निर्माण सम्पन्न हुने जानकारी दिए। कोरोना र आर्थिक समस्याका कारण मन्दिर निर्माणमा ढिलाइ भएको उनको भनाइ छ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले मन्दिर निर्माणका लागि आवश्यक बजेट पालिकाले विनियोजन गर्ने बताए। उनले मन्दिर नजिकै पाउना घरसमेत निर्माण भइरहेको जानकारी दिए। (रासस)

प्रकाशित मिति: ०९:०६ बजे, बिहीबार, कात्तिक ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्