भारतीय काङ्ग्रेसको नयाँ अध्यक्षमा खड्गे निर्वाचित

नयाँ दिल्ली, कात्तिक २ : भारतको विपक्षी दल, राष्ट्रिय काङ्ग्रेस पार्टी (आईएनसी) को अध्यक्षमा मल्लिकार्जुन खड़गे निर्वाचित भएका छन।
आईएनसीले मल्लिकार्जुन खड़गेलाई पार्टीको अध्यक्षमा निर्वाचित गरेको पार्टीका नेता मधुसुदन मिस्त्रीले बुधबार जानकारी दिएका हुन।
निर्वाचन अधिकृत मिस्त्रीले सञ्चारकर्मीसँग भने, 'कूल नौ हजार ३८५ मत खसेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा खड्गेलाई सात हजार ८९७ मत प्राप्त भएको छ।'
उनीसँग अध्यक्षका लागि प्रतिस्पर्धा गरेका काङ्ग्रेस नेता शशि थरूरले एक हजार ७२ मत प्राप्त गरेका छन। साथै, खसेको कूल मतमध्ये ४१६ मत बदर भएको छ।
निर्वाचन अधिकृत मिस्त्रीले सञ्चारकर्मीसँग भने, 'थरुरले हार स्वीकार गर्दै खड़गेको सफलताको कामना गर्नुभएको छ । नेतृत्व चयनका लागि भएको निर्वाचनमा प्राप्त अत्यधिक बहुमतसँगै खड़गे २४ वर्षमा पहिलो पटक गैर–गान्धी परिवारबाट काङ्ग्रेसको नेतृत्वमा चयन हुनुभएको छ।'
गान्धी परिवारले आफूलाई शीर्ष पदबाट अलग गरेको छ र मतदानमा कुनै पनि उम्मेदवारलाई समर्थन नगरेको बताइएको छ।












