लस्कर–ए–तैबाका सदस्यलाई आतंकवादी घोषणा गर्ने प्रस्ताव चीनद्वारा अस्वीकार
भारत र अमेरिकाको सहयोगमा पाकिस्तानस्थित उक्त समूहका सदस्य शाहिद महमूदलाई विश्व आतंकवादीका रूपमा सूचीकृत गर्न संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत प्रस्तावलाई चीनले अस्वीकार गरेको हो।
न्युयोर्क, कात्तिक २ : चीनले लस्कर–ए–तैबा (एलइटी) का सदस्यलाई विश्व आतंकवादी घोषणा गर्ने भारत र अमेरिकाको प्रस्तावप्रति असहमति जनाएको छ।
भारत र अमेरिकाको सहयोगमा पाकिस्तानस्थित उक्त समूहका सदस्य शाहिद महमूदलाई विश्व आतंकवादीका रूपमा सूचीकृत गर्न संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत प्रस्तावलाई चीनले अस्वीकार गरेको हो। यसअघि पनि तीनपटक प्रस्तुत भइसकेको उक्त प्रस्तावको विपक्षमा चीन उभिएको थियो।
अमेरिका र भारतले बुधवार महमुदलाई राष्ट्रसङ्घीय सुरक्षा परिषद्को १२६७ अल–कायदा प्रतिबन्ध समितिअन्तर्गत वैश्विक आतंककारीका रूपमा कालोसूचीमा राख्ने प्रस्ताव पेश गरेका थिए। एलइटीका सदस्य साजिद मीर, एलईटी र जमात–उद–दावाका नेता अब्दुल रहमान मक्की र अब्दुल रउफलाई आतंकवादीमा सूचीकृत गर्न प्रस्ताव गरिएको थियो।
यसअघि पनि चीनले साजिद मीरलाई विश्व आतंकवादी घोषणा गर्ने प्रस्तावलाई अस्वीकार गरेको थियो एलइटीका शीर्ष ‘कमाण्डर’ हुन्। उनी सन् २००८ को मुम्बईमा भएको आतंकवादी हमलाका मुख्य योजनाकार मध्येका एक हुन्। मीर भारत र पश्चिमी देशलगायत धेरै देशका नागरिकहरूको मृत्युका निम्ति जिम्मेवार मानिन्छन्।
सन् २००८ को नोभेम्बर २६ मा एलइटीका १० जना आतङ्वादी समुद्रीमार्गबाट मुम्बइ पुगेका थिए। उनीहरूले ताज मुम्बइ होटलमा आक्रमण गर्दा १८ जना सुरक्षाकर्मीसहित एक सय ६६ जनाको ज्यान गएको थियो। आतंकवादीले तीन दिनसम्म होटलमा बसेकाहरूलाई बन्दी बनाएका थिए।












