Kathmandu Press

अवरुद्ध कर्णाली राजमार्ग : जुम्ला–नाग्म सडकखण्ड खुल्यो

अवरुद्ध कर्णाली राजमार्ग : जुम्ला–नाग्म सडकखण्ड खुल्यो

कर्णाली, कात्तिक १ : अविरल वर्षापछि आएको भीषण बाढी र पहिराले अवरुद्ध कर्णाली राजमार्गअन्तर्गत जुम्ला–नाग्म सडकखण्ड खुलेको छ ।

सडक डिभिजन कार्यालय जुम्लाको नेतृत्व, सरोकारवालाको समन्वय तथा सहकार्यमा दश दिनको लामो प्रयासपछि उक्त सडकखण्ड आज खुलेको हो । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले जुम्ला–नाग्म सडकखण्डको रारालिही नाग्मसम्म दर्जनाैं स्थानमा पहिरो हटाएर सडक खुलाइएको जानकारी दिए।

Hardik ivf

'सडक क्षेत्रमा असोज २२ गतेदेखि दुई इन्जिनियर, तीन सब–इन्जिनियर, सात सुपरभाइजर र ७३ जना लेन्थ वर्कर खटेका थिए,' उनले भने, 'दिनरात खटेर काम गर्दा आज सडक खोल्न सफल भएका छौँ ।' राजमार्ग बन्दका कारण तेल अभावले काममा ढिलाइ भएको डिभिजन प्रमुख श्रेष्ठले बताए।

कर्णाली राजमार्गको सर्वपक्षीय अनुगमन

बाढी र पहिराले क्षतिग्रस्त कर्णाली राजमार्गको अनुगमन गरिएको छ । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्य, प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरी, डिभिजन सडक कार्यालयका प्रमुख श्रेष्ठ, राष्ट्रिय मानवअधिकार आयोग जुम्लाका निमित्त प्रमुख धनराज शाही, सुरक्षा निकायका प्रमुखसहित पत्रकार महासङ्घको संयुक्त टोलीले जुम्लादेखि कालीकोटको भिग्मसम्मको राजमार्गको अवस्था अनुगमन गरेको छ ।

राजमार्गको स्थलगत अनुगमनमा पुग्नुभएका समन्वय समितिका प्रमुख आचार्यले अहिलेलाई सडक सुचारु भए पनि पहिराको दीर्घकालीन व्यवस्थापन आवश्यक रहेको बताए। प्रमुख जिल्ला अधिकारी केशरीले राजमार्गको दिगो सञ्चालनमा सबैको सहयोग आवश्यक रहेकोप्रति जोड दिए।

कर्णाली राजमार्गमा खटिएका सडक डिभिजन कार्यालय जुम्लाका सब–इन्जिनियर गोविन्द अधिकारीले कालीकोटको पिलीदेखि सेरावाडासम्म काम सकेर गाडी पुगेको बताए। उनका अनुसार सेरावाडादेखि नाग्मसम्मको करिब ३० किलोमिटर सडक क्षतिग्रस्त हुँदा सुचारु गर्न सबैभन्दा कठिन छ। धनाडादेखि नाग्मसम्म मात्रै करिब १५ स्थानमा ठूला ढुङ्गा विष्फोटन गर्नुपर्ने अवस्था रहेको सब–इन्जिनियर अधिकारीले बताए।

प्रकाशित मिति: २०:०६ बजे, मंगलबार, कात्तिक १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्