‘व्यवस्था जोगाउन गठबन्धन कायम’

हेटौंडा, कात्तिक १ : सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं १ मा उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधान जोगाउन लोकतान्त्रिक बाम गठबन्धन कायम राखिएको बताएकी छन् ।
मंगलबार बिहान हेटौँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यायले संविधानको अपनत्व स्वीकार गर्न नसक्नेले लोकतन्त्र बचाउँछु भन्नु भ्रमपूर्ण रहेको बताइन् । उपाध्यायले आफू पहिलो पटक पूर्वी मकवानपुरको भूगोलमा उम्मेदवार भए पनि पूर्वी मकवानपुरको विकासमा उल्लेख्य बजेट पहिलादेखि नै व्यवस्था गर्दै आएको बताइन् ।
त्यस्तै नेपाली कांग्रेसका बागमती प्रदेश सभापति एवं सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नं– २ ‘ख’ मा उम्मेदवारी दिएकी इन्द्रबहादुर बानियाँले संविधान र व्यवस्थाको रक्षाका लागि सत्ता गठबन्धनले जित्नुपर्ने उल्लेख गरिन्।
उनले मकवानपुरको समग्र विकासका लागि गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरिन्। मकवानपुरमा सत्तारुढ गठबन्धन, नेकपा एमाले तथा अन्य राजनीतिक दलका उम्मेदवारले विभिन्न कार्यक्रम आयोजना गरी चुनाव लक्षित गतिविधिलाई तीव्रता दिएका छन् । स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएकाले पनि चुनावी प्रचारप्रसारको कार्य सुरु गरिसकेका छन्।












