Kathmandu Press

लोकतन्त्र र संविधान जोगाउन गठबन्धन : वरिष्ठ नेता पौडेल

लोकतन्त्र र संविधान जोगाउन गठबन्धन : वरिष्ठ नेता पौडेल

तनहुँ, असाेज ३० : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र संविधान जोगाउन गठबन्धन गरिएको बताएका छन। जिल्लाको भानु नगरपालिका–६ स्थित सिम्पानीमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशमा सुशासन कायम गर्न आवश्यकता देखिएकोले गठबन्धन गरी देशलाई निकास दिन लागेको बताए।

'मैले ल्याएका केही विकासका योजना अधूरा छन्,' उनले भने, 'अधूरा काम पूरा गर्ने इच्छा रहेकाले तपाईंहरुको घरदैलोमा भोट दिनु भन्न आएको हुँ।’ सहिदका बलिदानबाट प्राप्त भएका जनता अधिकारलाई कुण्ठित गर्ने प्रपञ्च रचिएको हुँदा त्यसको रक्षाको लागि खबरदारी गर्न गठबन्धन गरी अघि बढेको उनको भनाइ थियो । गाउँका युवा शक्तिलाई विदेशिनबाट रोक्नका लागि स्वदेशमा बसेर रोजगारी गर्ने अवसर दिने मुख्य लक्ष्य रहेको नेता पौडेलले बताए।

गठबन्धनका प्रदेशसभा सदस्यका उम्मेदवार एवं नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य हरिबहादुर चुमानले गठबन्धन जनताले महसुस हुने गरी विकास निर्माणका काम गर्ने एजेण्डासहित मतदाताको घरदैलोमा आएको बताए।

देशमा सुशासन कायम गर्न सकिए मात्रै प्रजातन्त्रको स्थायित्व र भ्रष्टाचारलाई निरुत्साहित गर्न सकिने उनको भनाइ थियो । कांग्रेस एक्लैले दुई तिहाइको बहुमत ल्याउन नसक्ने हुँदा देशको विकासमा काँचुली फेर्न गठबन्धन गरेर अघि बढ्न आवश्यक देखिएकाले सँगै हातोमाले गर्दै अघि बढेको नेता चुमानले बताए।

गठबन्धनका उम्मेदवारहरूले कार्यकर्ता भेटघाट कार्यक्रमको तालिका बनाएर शुक्रबारदेखि तनहुँ क्षेत्र नं १ अन्तर्गतका विभिन्न पालिकाका वडा वडामा पुगेर घरदैलो कार्यक्रमलाई तीव्रता दिन थालेका छन्।

प्रकाशित मिति: १८:२४ बजे, आइतबार, असोज ३०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्