Kathmandu Press

उदयपुरमा अरिङ्गालले चिलेर युवकको मृत्यु

उदयपुरमा अरिङ्गालले चिलेर युवकको मृत्यु

गाइघाट, असोज ३० : उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिका–५ जाँतेका एक युवकको कालो अरिङ्गालको सिकार गर्न लाग्दा चिलेर मृत्यु भएको छ । 
    
साथीसँग नजिकैको जङ्गलको रुखमा चढेर अरिङ्गालको गोला टिप्ने प्रयास गरेपछि दर्जनौँ अरिङ्गालले चिलेकाले जाँते चौलानेका ३४ वर्षीय दिवस राईको मृत्यु भएको  स्थानीयवासी दीपेन्द्रकुमार राईले बताए। अरिङ्गालले चिलेर  अन्य चार युवा घाइते भएको पनि उहाँले जानकारी दिए। 

बिहीबार गाउँ नजिकैको जङ्गलमा कालो अरिङ्गालको सिकार गर्न दिवशसहित अन्य युवा रातको समयमा गएका र रुखमा चढेर अरिङ्गाल टिप्ने प्रयास गर्दा दर्जनौँ अरिङ्गालले दिवशसहितका अन्य रुखमा चढेका युवालाई टोकेर बेहोस बनाएको अर्का स्थानीयवासी धनबहादुर राईले बताए। 

अरिङ्गालको टोकाइबाट बेहोस भएका दिवशको शनिबार बिहान मृत्यु भएको छ भने अन्य चार जनाको पनि स्थानीय स्वास्थ्यचौकीमा उपचारपछि अहिले घरमा घरेलु उपचार भइरहेको उहाँले जानकारी गराए। 

बर्सेनि जाँते नजिकैको पाखाका जङ्गल र चौलानेका जङ्गलमा स्थानीयवासीले अरिङ्गालको सिकार गर्दै आएका छन् । यसपटक पनि कालो अरिङ्गालको सिकार गर्न गएका दिवशसहितका युवाले अरु सिकारीले छाडेका कालो अरिङ्गालको गोलो सिकार गर्न लाग्दा पहिल्यै अरिङ्गालले आक्रमण गरेको धनबहादुरको भनाइ थियो।

प्रकाशित मिति: १४:१७ बजे, आइतबार, असोज ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्