तिहारका लागि ओखरको आयात बढ्दै
दसैं सकिएलगत्तै चार दिनको अन्तरालमा २६ कन्टेनर ओखर र १८ कन्टेनर स्याउ रसुवागढी नाकाबाट नेपाल भित्रिएको सीमा सुरक्षाकर्मीले बताएका छन् ।
रसुवा, असोज २९ : तिहार पर्वलाई लक्षित गरी रसुवागढी नाकाबाट ओखर तथा स्याउ आयात हुन थालेको छ।
चालु आर्थिक वर्षको साउनदेखि नै अत्यन्तै न्यूनरूपमा आयात भइरहेको चिनियाँ दाँते ओखर तथा स्याउ दसैँपछि दैनिक आयात हुन थालेपछि नेपाली उपभोक्ताको खरिदमा सहजता आएको हो ।
दसैं सकिएलगत्तै चार दिनको अन्तरालमा २६ कन्टेनर ओखर र १८ कन्टेनर स्याउ रसुवागढी नाकाबाट नेपाल भित्रिएको सीमा सुरक्षाकर्मीले बताएका छन् ।
लोड भएका नेपाली कन्टेनर डिब्बा भन्सार प्रक्रिया पूरा गरी क्रमिकरूपले काठमाडौँ प्रस्थान गरिरहेकाले अबका दिनमा ओखर तथा स्याउ खरिदको मूल्य सर्वसुलभ हुने अपेक्षा गरिएको छ।
तिहार पर्व नजिकिइसकेको र अर्कोतर्फ मन्दिरमा चढाउनेदेखि बिरामीलाई खुवाउनसमेत फलफूलका रूपमा स्याउ नै पहिलो रोजाइ हुने गरेका कारण व्यवसायीले फलफूलको आयातलाई प्राथमिकता दिँदै आएको व्यवसायी धर्म पौडेलले बताए।
नेपाली व्यापारीले माग गरेलगतै चिनियाँ ठूलो ढुवानी कम्पनी मुसा टासपोर्टले छिटो–छरितो रसुवागढी पु¥याउने गरेको व्यवसायीले बताउँदै आएका छन् ।
चालु आर्थिक वर्षको साउनदेखि दसैँ अगाडिसम्मको तथ्यांकले १६ कन्टेनर दाँते ओखर, चार कन्टेनर स्याउमात्र आयात भएको देखाएको छ । नेपालीको दोस्रो ठूलो चाडपर्व तिहार भएका कारण पछिल्लो समय स्याउका साथै ओखरको आयात बढ्न थालेको हो।
अन्य सामानको सङ्ख्या सबै गणना गर्नुपर्ने र स्याउ तथा ओखरको शुल्कमा प्रति कन्टेनरको मात्र हिसाब हुने भएका कारण ढुवानीकर्ताको रोजाइ पहिलो फलफूल हुने गरेको पाइएको छ।
चीनको केरुङ क्षेत्रमा कोभिड सङ्क्रमण बढेको भन्दै चिनियाँ सीमा अधिकारीले गत साउन २१ गतेदेखि भदौ २९ गतेसम्म बन्द गराएको आयात ३० गतेदेखि पुनः सुरु भएको र पहिलाको तुलनामा आयात परिमाणसमेत केही मात्रामा बढेको सीमा अधिकारीले बताएका छन्।










-1764753058.png)
-1764751301.jpg)
