दुई महिनामै बिग्रियो अक्सिजन प्लान्ट
जिल्ला अस्पताल खोटाङमा जडान गरिएको अक्सिजन प्लान्ट उद्घाटन गरेको दुई महिना नबित्दै बिग्रिएको छ।
खोटाङ, असोज २९ : जिल्ला अस्पताल खोटाङमा जडान गरिएको अक्सिजन प्लान्ट उद्घाटन गरेको दुई महिना नबित्दै बिग्रिएको छ।
अक्सिजन प्लान्टको थ्री फेज स्टेप्लाइजरको पिसी बोर्ड बिग्रँदा अक्सिजन उत्पादन बन्द भएको जिल्ला अस्पतालका प्रमुख डा. नितु लामाले बताइन्। मुन रक्स इन्टरनेशनल प्रालिले जडानको जिम्मा लिएको अक्सिजन प्लान्ट गत साउन २३ गते औपचारिकरूपमा उद्घाटन गरिएको थियो।
प्रदेश १ सरकारको एक करोड ५० लाखमा जडान गरिएको अक्सिजन प्लान्टले काम नगर्दा अक्सिजन सिलिण्डर भर्नका लागि विराटनगर पुग्नुपर्ने बाध्यता सिर्जना भएको छ। अक्सिजन उत्पादन बन्द हुँदा सिकिस्त अवस्थाका बिरामीलाई अक्सिजन दिँदै अन्यत्र लैजानसमेत असहज भएको बिरामीका आफन्तले बताएका छन्।
अक्सिजन प्लान्ट जडानका लागि अस्पतालले बोलपत्र आह्वान गरेकामा नौवटा फर्मको आवेदन परे पनि घटाघटमा मुन रक्स इन्टरनेशनल प्रालिले ठेक्का पारेको थियो। तर अक्सिजन प्लान्टको संरचना कमसल बनेको भन्दै विरोध भएको थियो।
अक्सिजन प्लान्टको ट्रस अस्पतालकै एउटा भवनसँग अडेसा लगाएर (टाँसेर) बनाइएको, सिङ्गल इँटाको पर्खाल धकेल्दा ढल्ने खालको बनाइएको, ट्रसमाथि कागजजस्तो पातलो जस्ताको छाना हालिएको, मान्छे छिर्न सक्ने ठाउँ राखिएको, पर्खालभन्दामाथि र छानामुनिको ‘स्पेस’मा कुखुराको खोरलाई बारेजस्तो पातलो तारजालीले बारेको, जालीलाई प्लाष्टिकको डोरीले बाँधेको पाइएपछि १० लाख भुक्तानी रोकिएको थियो। अक्सिजन प्लान्टको जस्ता र जाली फेर्ने, पर्खाल प्लास्टर गर्नेलगायतका काम गरेपछि मात्र बाँकी रकम भुक्तानी दिइएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले जनाएको छ।
अक्सिजन प्लान्टको ट्रस कमसल बनाइएको भन्दै गुनासो आएपछि गत असार २४ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई नेतृत्वको टोलीले निरीक्षण गरेको थियो। अक्सिजन भर्नका लागि अन्यत्र जानुपर्ने बाध्यता अन्त्य गर्न जिल्ला अस्पताल खोटाङमा जडान गरिएको अक्सिजन प्लान्टबाट दैनिक २० देखि २५ सिलिण्डर अक्सिजन उत्पादन हुँदै आएको थियो।
प्लान्टबाट उत्पादन भएको अक्सिजन जिल्ला अस्पतालमा भर्ना भएका बिरामीलाई निःशुल्क तथा निजी अस्पताललाई प्रतिकेजी १५ मा बिक्री गर्ने व्यवस्था मिलाइएको थियो । जिल्लाको एकमात्र सरकारी अस्पतालमा सञ्चालन गरिएको अक्सिजन प्लान्ट बिग्रिएपछि नीजि अस्पतालहरुसमेत समस्यामा परेका छन्।
निर्माणाधीन ५० शय्याको अस्पताल तयार भएपछि पाइपलाइनमार्फत सिधै बिरामीको शय्यामा अक्सिजन पु¥याउने अस्पतालले जनाएको थियो। दुई महिना नबित्दै बिग्रिएको अक्सिजन प्लान्ट सोही ठेकेदार कम्पनीलाई मर्मत गर्न लगाएर सञ्चालनमा ल्याउने तयारी भइरहेको जिल्ला समन्वय समिति खोटाङका प्रमुख एवं अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सनबहादुर राईले बताए। (रासस)












