Kathmandu Press

पहिरो पन्छाउन स्थानीय सरकार र सुरक्षा निकायको सक्रियता

राजमार्गको अवरोध हटाएर आवागमन सहज बनाउन आज जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरी नेतृत्वको टोली र स्थानीय सरकारका प्रमुखहरूसहित जुटेका छन्।
पहिरो पन्छाउन स्थानीय सरकार र सुरक्षा निकायको सक्रियता

सुर्खेत, असाेज २८ : गत असोज १९ गतेदेखि अविरल रूपमा परेको वर्षापछिको बाढी र पहिराले कर्णाली राजमार्गको जुम्ला–कालिकोट खण्ड एक हप्तादेखि पूर्णरूपमा बन्द छ। राजमार्ग अवरुद्धका कारण आवागमन पनि ठप्प भएको छ।

राजमार्गको अवरोध हटाएर आवागमन सहज बनाउन आज जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरी नेतृत्वको टोली र स्थानीय सरकारका प्रमुखहरूसहित जुटेका छन्।

नेपाली सेना नन्दा बक्स गण जुम्लाका गणपति रविन थापाले जुम्लाको तिला गाउँपालिका रारालिहीमा तीन किलोमिटर खण्डमा गएको पहिरो पन्छाउन सुरु गरिएको बताए।

Hardik ivf

क्षतिग्रस्तस्थल पुगेर सडक डिभिजन कार्यालयले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको निगरानीमा राजमार्ग खुलाउने काम सुरु गरेको प्रमुख जिल्ला अधिकारी केसरीले जानकारी दिए। राजमार्ग खुलाउन प्रजिअ केसरी, गणपति थापा, सशस्त्र प्रहरी ३३ नं गणका प्रहरी उपरीक्षक चित्राङ्गत दाहाल, जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख नरेन्द्र चन्द स्थलगतरुपमा आफैँ खटिएका छन्।

अवरोध हटाउनका लागि प्रयोग गरिएका ‘स्काभेटर’ सहित प्रहरीसमेत खटाइएको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए। उनका अनुसार कर्णाली राजमार्गको जुम्ला खण्डको रारालिहीमा तीनवटा ‘स्काभेटर’ ले लगातार काम गरिरहेका छन्। यसका साथै ‘ब्रेकर’ले समेत काम गरे पनि ठूलो ढुङ्गाहरू खसेकाले ‘ब्लाष्टिङ’ गर्नुपर्ने अवस्था भएको छ।

गणपति थापाले भने, 'ब्लाष्टिङ गर्नका लागि माथिल्लो निकायसँग अनुमति मागिसकिएकाले काम छिट्टै सुरु गर्दैछौँ। यो काम अझै दुई–तीन दिन लाग्ने देखिएको छ।'

जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार नाग्म–गमगढी राजमार्गको भूगोलपाटा, बाँजागाड, बड्की, देवारगाउँ, आचार्य लिही सडकखण्डमा पहिरो जाँदा आठ–दश स्थानमा सड्क अवरुद्ध भएको छ। हिमा गाउँपालिकामा पर्ने त्यस क्षेत्रमा स्थानीय तहको सक्रियतामा सडक सञ्चालनका लागि काम सुरु गरिएको छ।
 
नाग्म–गमगढी राजमार्ग खुलाउन जुटे स्थानीय सरकार 

नाग्म–गमगढी राजमार्ग खुलाउन स्थानीय सरकारका प्रमुखहरू जुटेका छन्। सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले सिञ्जामा सडक सञ्चालन गर्न ‘स्काभेटर’ले काम भइरहेको जानकारी दिए। हिमा क्षेत्रमा बाढीपहिरो गएकाले त्यस क्षेत्रमा चाँडै पहिरो पन्छाए सिञ्जा गाउँपालिकाको अवरोध हटाउन सहज हुने उनले बताए।

कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यका अनुसार कनकासुन्दरी क्षेत्रको राजमार्गमा स्थानीय तहले ‘स्काभेटर’ लगाएर पहिरो पन्छाउने काम भइरहेको छ। उनले जुम्लामा सबैभन्दा बढी मानवीय क्षति कनकासुन्दरीमा भएको छ। उक्त गाउँपालिकामा पहिरो र बाढीबाट नौ जनाले ज्यान गुमाएका छन्। सो गाउँपालिकामा सात घर पूर्णरूपले क्षति भएको उहाँले जानकारी दिए।

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार हिमा गाउँपालिकामा क्षेत्रमा पहिरो पञ्छाउने काम भइरहेको छ। केही स्थानमा बाटोको निसाना नै नभएकाले नयाँ बाटो खोल्नुपरेको उनले बताए। अध्यक्ष शाहीले ‘स्काभेटर’मा तत्काल इन्धन सकिएकाले काम अगाडि बढाउन अवरुद्व भएको बताए।

नेपाली सेना २४ नं बाहिनीका अनुसार कर्णाली राजमार्गको कालिकोट खण्डको नाग्गगाड, सेरावाडा, राँचुली, सेरीघाटमा पहिरो खसेको छ। सो क्षेत्रमा काम गर्न सेना सक्रिय भएको छ। नाग्म–गमगढी राजमार्गको मुगु खण्डको दर्जन स्थानमा पहिरो जाँदा पनि त्यहाँको आवागमन बन्द भएको छ। सात घुम्ती, पिना, टोप्ला, झ्यारी ताल्चा, तुमा, गमगढीमा गएको पहिरो हटाउने पहल भइरहेको नेपालीले सेनाले जनाएको छ।

प्रकाशित मिति: १७:१० बजे, शुक्रबार, असोज २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्