Kathmandu Press

म्याग्दीका पर्यटककीय स्थलहरूमा चहलपहल सुरू

म्याग्दीका पर्यटककीय स्थलहरूमा चहलपहल सुरू

बेनी, असाेज २७ : मौसममा सुधार आएपछि म्याग्दीका पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढेको छ । घोडेपानी, पुनहिल, खोपारा, मोहरेडाडा, सिंगा र भुरुङ तातोपानी, गलेश्वर, नारच्याङलगायतका ठाउँमा पर्यटकको आगमन बढेको छ ।

दसैं तिहार बिदाको समयमा आन्तरिक पर्यटक प्राकृतिक सौन्दर्यमा रमाउन म्याग्दीका पर्यटकीयस्थलमा आउन थालेका हुन् । यसैगरी बेनी–जोमसोम सडकमा सिधा यातायात सञ्चालन भएपछि म्याग्दी हुँदै मुस्ताङ घुम्न जाने स्वदेशी पर्यटक पनि बढेका छन् । अन्नपूर्ण चक्रिय पदमार्गमा समेटिएको घोडेपानी र पुनहिल क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको घोडेपानी टोल सुधार समितिका अध्यक्ष वीरेन पुनले जानकारी दिए।

Hardik ivf

उनका अनुसार दैनिक एक सयको हाराहारीमा विदेशी र त्यतिकै सङ्ख्यामा स्वदेशी पर्यटक घोडेपानी पुनहिल भ्रमणमा आउन थालेका छन् । हिमशृङ्खला र सूर्योदयको दृश्यावलोकन गर्न वसन्त र शरद ऋतुमा समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा रहेको पुनहिलमा पर्यटक आउने गर्छन् । पोखरादेखि नजिक भएको हुनाले यो ठाउँ पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

विद्यालय र कलेज तिहारसम्म बिदा हुने भएकाले विद्यार्थीलाई घुम्न निस्कने राम्रो समय पनि हो । निरन्तरको वर्षाका कारण रोकिएका पर्यटक मौसम सुधार भएसँगै घुमघाममा निस्किन थालेका हुन् ।

दसैंपछि पर्यटकको आगमन बढेको घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले बताइन। निरन्तरको भारी वर्षाका कारण यसपालि दसैं बिदामा निस्केका पर्यटक प्रभावित भए पनि दुई दिनयता मौसममा हलुका सुधार आएसँगै पर्यटकको आगमन बढ्न थालेको उनले बताइन।

चम्किला किरण छर्दै हिमालकै छेउबाट उदाउने सूर्योदयको दृश्यावलोकनसँगै पूर्वदेखि पश्चिमसम्म नै लहरै देखिने हिमचुचुरोको दृश्यले पर्यटक खुसी भएर फर्कने गरेको गुरुङले बताइन। पुनहिलबाट आठ हजार मिटरभन्दा अग्ला मनास्लु, अन्नपूर्ण र धौलागिरि हिमालको रेञ्जमा पर्ने २० भन्दा बढी हिमचुचुरालाई नजिकैबाट नियाल्न सकिन्छ।

बेनी–जोमसोम सडकअन्तर्गत पर्ने अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी कुण्डमा स्नान गर्ने पर्यटकको घुइँचो लाग्न थालेको छ। मुस्ताङ जाने र फर्कने पर्यटकले भुरुङ तातोपानीमा स्नान गर्दछन्। बेनीमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल र तेक्वान्दो प्रतियोगिता बिहीबारदेखि सुरु हुन लागेको छ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका कारण बेनीमा चहलपहल बढेको र होटल भरिभराउ भएका होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घका अध्यक्ष बाबुराम आचार्यले बताए। बेनी नजिकैको लम्भिहिल, गलेश्वर, मल्लाज र सिंगा तातोपानी कुण्डको पर्यटन प्रवद्र्धनमा नवौँ राष्ट्रिय खेलकुदले सहयोग गर्ने अध्यक्ष आचार्यको भनाइ छ।

प्रकाशित मिति: १८:३१ बजे, बिहीबार, असोज २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्